सन् २०२१ को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको हो ।
अबका दिनहरुमा बिधालय, कक्षाकोठाहरु अनि शिक्षकहरु स्वयं अनलाइन मार्फत घरघरमा आइरहनुपर्ने अवस्थाका साथसाथै समग्र शिक्षण अनि सिकाईका धरातलहरु नै रुपान्तरित भएको छ, विश्व शिक्षक दिवसमा यस फेरिएको संरचना अनि शैक्षिक प्रभावलाई दिलखोलेर सम्वोधन गर्ने चित्त परेको छ । सन् २०२१ मा क्रमश विश्व सामान्य अवस्थामा आउने कसरत गरिरहँदा बिधालय, कलेजहरु भौतिकरुपमा खुल्ने क्रम बढ्दो छ । विगतका २ वर्ष निकै उतारचढाब खेपेको शिक्षण क्षेत्रको सुधारका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिकालाई यस वर्ष सम्वोधन गरिएको छ ।
एउटा महान शिक्षकको आफ्ना विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो बसंसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।
विधालयमा पहिलो घण्टिमा हाजिरकापी लिएर रोल नम्बरका आधारमा हाजिर लिने शिक्षकहरुको आवाजपछी आफ्नो रोल नम्बरको पालोमा ‘यस सरु अथवा ’ यस मिसु या ‘म्याडम’ हामी सबैले भनेकै छौं । कोही एकजना साथी या रोल नम्बर गयल भएमा शिक्षकहरुले कारण खोतलेर, के भयो ? किन आएन ? भन्ने चिन्ता र आत्मियता विद्यार्थीप्रति देखाउने गर्दछन् र समस्यामा परेका विधार्थीहरुप्रति सदाशयताकासाथ चाँसो व्यक्त गर्दछन् । स्कूले जीवनका अनि विद्यार्थीपलका फोटाहरु छन भने नियालेर हेर्नुहोस्, ति शिक्षकका अनुहारहरु र वहाँहरूले तपाइको भविष्य प्रतिको चिन्ता गरेर गाली गरेको, माया गरेको सम्झना गर्नुहोस् त ! संभव भएसम्म वहाँहरुलाई भेटेर आफूले उनिहरुले सिकाएको शिक्षाको आधारमा गरेको प्रगतिका कथाहरु सुनाउनुहोस्, तपाईको प्रगतिकालागि मुक्तकण्ठले खुशी हुने निश्वार्थी पात्र शिक्षकहरू नै हुन् । ती कापीका पानाहरु, जसमाा तपाइले गरेका गल्तीहरु उनिहरुको कलमको मसीले सच्याइएका छन्, ति परीक्षाका पानाहरु जसमा तपाइले लेखेका उत्तरका आधारमा तपाइलाई अङ्क दिइएको छ । हेडसर देखि नेपाली, गणीत, विज्ञान, सामाजिक शिक्षा, जनसंख्या जस्ता ति तमाम विषयका विषयगत ज्ञानहरु शिक्षकहरुको सहजिकरण र निर्देशन वेगैर कहाँ संभव थियो र ?
आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालवालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् । आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिन आवश्यक छ जसले हामिलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए । ‘क’ बाट कछुवा देखि ‘ज्ञ’ बाट ज्ञानीसम्म सिकाए ।’A’ फर Apple बाट ‘Z’ फर Zebra सम्म सिकाए । त्यस्पश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरुसंग शिक्षा लिएका छौं, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरुलाई हार्दिक नमन् ।
कोही शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरेको कारण हामीलाई लठ्ठीले पिट्नुभएको होला, कक्षाकोठामा अनावश्यक बोलेको या झगडा गरेकोमा अथवा क्लास ‘बङ्क’ गरेर कक्षाकोठामा गयल भएकोमा हामीले वहाँहरुबाट सजाय पक्कै पनि पाएको हुनुपर्छ तर त्यतीबेलाका सजाय अहिले आएर हाँसो उठ्दो याद भइसकेको छ । वहाँहरुले जे गर्नुभयो सबै हाम्रा लागि नै गर्नुभएको हो । तर यसको अर्थ यो हैन की ज्ञानको नाममा कलिला नानीहरूलाई कठोर पीडा दिइयोस् । विभिन्न समाचारहरूमा समय समयमा सुन्नमा आउने त्यस्ता सजायका कारण केटाकेटीले निर्मम यातना सहेका छन्, आँखा फुटालिएका छन्, हाँत खुट्टा भाँच्चिएका छन् । कुनैपनि हालतमा यस्तो कार्यलाई निरूत्साहित गर्न विद्यालय, शिक्षक शिक्षिका, अभिभावक र सरोकारवालाहरूले गम्भिरताका साथ लिन जरूरी छ ।
तर केटाकेटी उमेरदेखि जागिरे अथवा व्यवसायीक उमेरसम्मको हाम्रो सफलताको श्रेय तिनै शिक्षक शिक्षिकालाई जान्छ । कहिले नाटक गरेर त कहिले चित्र बनाएर हामीलाई पढाउनुभयो र आज हामी जे छौं त्यस्मा वहाँहरुको अतूलनिय देन छ । वर्णमाला नै उक्काउन नजान्ने एउटा बालक विद्यालय छिर्छ र विस्तारै वर्णमाला उक्काउँदै, बाह्रखरी सिक्दै विस्तारै उ कुनै विश्वविधालयबाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ । शिक्षकहरुबिना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावी पुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सीपको माध्यमले तठस्त र स्वतन्त्र रुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुबाट हामीले धेरै कुराहरु पाएका छौं, हामीलाई चाहिएको बेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धि गरिदिनुभएको छ, समस्या परेको बेलामा अतिरिक्त सहयोग पाएका छौं, अनुशासनको अभ्यासहरु अनि चाहिएको समयमा एउटा सहयोगी उपस्थिती नै शिक्षकहरू हुन् ।
जसरी फलामलाई तताएर अनि त्यसलाई तातो छँदै अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सधैं वालीनालीलाई एकै प्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विद्यार्थीलाई फरक फरक तरिका प्रयोग गर्नुपर्दछ । हामी सबैको कुनैपनि कुरा बुझ्ने आ-आफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन् । हामीमध्ये कतिपय विद्यार्थी हौं या शिक्षकनै हौं, एउटा असल विद्यार्थी र असल शिक्षक हुने प्रेरणा हामीबाट नहटोस्, सदियौंसम्म यो सम्मानको संस्कार बसिरहोस् ।