Aamsanchar

झापामा प्रजातान्त्रिक आन्दोलनका ६० जना अगुवा नेता कार्यकर्तालाई सम्मान

Author Image
बिहिवार, असोज २१, २०७८

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले चुनावी प्रतिष्पर्धा विपक्षी पार्टीसँग मात्रै हुने बताउँदै पार्टीको आन्तरिक निर्वाचन नेतृत्व चयन गर्ने लोकतान्त्रिक विधिमात्रै भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस अर्जुनधारा नगरसमिति वार्ड नं –१ द्वारा खुदुनाबारीस्थित सिस्नेमा आयोजित शुभकामना आदान–प्रदान एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता शिवाकोटीले पार्टीको आन्तरिक प्रक्रियामा लामो प्रतिष्पर्धा नहुने स्पष्ट पार्दै अधिवेशनसँगै प्रतिष्पर्धा पनि सकिने बताउनुभएको हो । विपक्षी पार्टीसँगको चुनावी प्रतिष्पर्धा सँधै रहिरहने उहाँको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने प्रजातन्त्रवादी योद्धाहरुको सम्मानले भावी पुस्तालाई उत्साह र प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका ६० जना अगुवा नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।

अर्जुनधारा वडा नं –१ का सभापति उपेन्द्र बस्नेतको सभापतित्व र नेता शिवाकोटीको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस झापा सभापति उद्वव थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मानितहरुका तर्फबाट विष्णु नेपाल, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमराज खरेल, रामसिंह लिम्बू लगायतले शुभकामना मन्तब्य राख्नुभएको नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

नेकपा एमालेसहितका पार्टी परित्याग गरी एकसय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस झापाका सभापति थापाले पार्टीको सदस्यता प्रदान गर्दै अविर र खादा लगाएर स्वागत सम्मान गर्नुभएको थियो ।वडा समितिका उपसभापति मदन ढकालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कुशल खतिवडाले गर्नुभएको थियो ।

यसैबीच नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं–५ को पद हस्तान्तरण एवं शुभकामना आदान–प्रदान कार्यक्रम विर्तामोडमा सम्पन्न भएको छ । वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका पूर्व उपसभापति एवं आसन्न जिल्ला निर्वाचनमा सभापतिका प्रत्यासी उम्मेद्वार देउमान थेवेले नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि लामो संघर्ष गरेको उल्लेख गर्दै नेपाली कांग्रेसका नेता र कार्यकर्ता जनताको सेवामा निरन्तर सेवारत रहेको बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता एवं विर्तामोड नगर सभापति भोजराज सिटौलाले पार्टीको आन्तरिक निर्वाचनमा कसैको जित र कसैको हार नहुने उल्लेख गर्दै सवैको सुझाव, सल्लाह बमोजिम अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य जलकुमार गुरुङ, विर्तामोड नगरपालिका वडा नं–४ का अध्यक्ष कुलप्रसाद संग्रौला, विर्तामोड नगरपालिका ३ नं वडा सभापति प्रेम उप्रेती, क्षेत्रीय प्रतिनिधि युवराज प्रसाई, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वडा सभापति दीपक मेनेङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति सुष्मा पौडेलले र सञ्चालन अच्युत दाहाल र सन्तोष कडरियाले संयुक्त रुपमा गर्नुभएको थियो ।

Views: 174

प्रतिक्रिया (०)