Aamsanchar

हरेक बर्ष करिब ३० करोड मानिसहरु डिप्रेशनको शिकार

Author Image
आइतवार, असोज २४, २०७८

एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ । सुस्तरि हुर्कदै जाँदा उसको जीवन वाट बालापन अनि त्यो बालकको छवी हराँउदछ, उ अब हास्नका लागि कारण खोज्दछ ।

अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण बिधार्थी हुँदै जान्छ, बिधालय अनि कलेजका कार्य, कामको तनाव, समबन्धको गहिराई अनि जीवनका साध्यहरु ले उसको हाँसो शोषेर लाने गर्दछन् । हाम्रो वयस्क जीवनको कार्यगत अनि बिधार्थी पलको अधिकाशं हिस्सा काम अनि भागादौड मै बित्दछ । चाहे बालक होस् या बृद्ध अनि वयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्दछ । तनाव, सीमा, तुलना, संयम अनि हिनतावोधी धेरै कुराहरु बीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ, हामीले सबै कुरालाई सन्तुलनमा राखेर अगाडी बढ्न जरुरी छ । जीवन केवल उपभोक्ताशीप र उपलव्धीको धरा्ेहर मात्र हैन्, शुन्यता बीच रहेको निरपेक्ष हरेक श्वाँसहरुको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्न जरुरी छ ।

सूर्य उदाँउदा हाँस्न भुलेको मानस लाई आजभोली हाँस्नका लागि बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरु चाहिन्छ, जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफु अगाडि बढ्नु लाई जीत को परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धा बीच अन्योल को परिधी बनाएका छन् अनि तनाव पूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।

यस्ता प्रतिनिधी पात्र बालक जस्ता अरबौं मानिसहरु एक खित्का पनि नहाँसी अनि तनाव वीच नै आफ्ना दिन अनि बर्षहरु गुजारी रहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरु त हाम्रा टोलछिमेक मै दैनिक सुनिन्छ ।

मानसिक स्वास्थको यिनै मुद्धा अनि परिवेशले ल्याएको चुनौतीलाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरु भनेको मानविय संवेदनात्मक सहयोग र भावनात्मक प्रार्थमीक उपचार हरु हुन् ।

जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरुलाई भौतिक प्राथमीक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दूर्घटनामा परेका ब्यक्तिहरुलाई तत्कालै सही मानसिक प्राथमीक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेका छन् ।

जीवन अनमोल छ र यहाँ महत्वपूर्ण कुराहरु जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो, कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त विर्सिरहेका छैनौ रु खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।

स्मरण रहोस्, हरेक बर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेका छन् , खुशी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थको पहिलो खुडकिलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन्, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलव्धी हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाँया को पछाडी कुद्न बन्द गर्दै जीवनको वास्तवीक मुल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सिमीत जीवनका दिनलाई रमाईलो गरि बिताउने साहस सबैमा होस् ।

मानसीक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायीत्व हो, उनीहरूलाई दया होइन माया र स्नेहले भरीएको सामाजिक संरचनाको विकास गरौं ।

डिप्रेशनको उपचार के हो र कसरी प्राप्त गर्ने ?

डिप्रेशन प्रभावित व्यक्तिहरुलाई साथी, परिवार र समाजको सकारात्मक सहयोगको खाँचो हुन्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा पीडित व्यक्ति आफैंले आफ्नो मन दह्रो गरी यो अवस्थासंग जुझ्नु पर्छ ।

दिमागबाट डोपामिन, सिरोटोनिन् लगायतका खुशी गराउन सक्ने हर्मोन तत्वहरुको निष्काशनमा व्यायामको ठूलो भूमिका हुन्छ । डिप्रेशन भएका व्यक्तिहरुलाई आफ्नो कोठा र ओछ्यान छोड्नै नसक्ने जस्तो लागेपनि बाहिर खुला स्थानमा हिड्नु या दौड्नु जस्तो राम्रो अरु केही हुँदैन । घाम या उज्यालोमा बस्ने, हरिया रुखहरु या फूलहरु भएका ठाउँमा हिंड्ने धेरै राम्रा उपायहरु हुन् । आधा घन्टासम्म मुटुको चाल बढ्ने गरी छिट्छिटो हिंडेने वा दौड्ने गरेमा मन खुशी हुन्छ ।

सकारात्मक सोच राख्ने, हरेस नखाने र आफ्नो मन मिल्ने साथी या आफन्तसँग कुरा गर्ने र आफ्ना भावनाहरु साटासाट गर्नाले पनि व्यक्तिलाई डिप्रेशनबाट मुक्ति दिलाउन सहयोगी हुन्छ ।

मेडिटेशन र ध्यानले पनि मनमा कुरा खेल्ने, नकारात्मक सोच्ने बानीलाई परिवर्तन गर्न सकिन्छ ।

यी उपायहरु अपनाउँदै, सकारात्मक सोचको बिकास गर्दै जाँदा डिप्रेशनबाट मुक्ति पाउन सकिन्छ । तर एकपटक डिप्रेशन भएको व्यक्ति पुनः पुनः डिप्रेशनमा जान सक्छ, त्यसैले ऊ आफू स्वयम् सजग भएर योग, ध्यान, प्राणायाम र जीवनोपयोगी सीपहरुद्वारा आफूलाई खुशी राख्दै अगाडि बढेमा डिप्रेशनबाट बारम्बार पीडित हुनु पर्दैन, या डिप्रेशन भइ हालेमा पनि छिटो सञ्चो हुन सक्दछ ।

डिप्रेशन प्रभावित व्यक्तिका साथीसंगी या परिवारका सदस्यको पनि ठूलो भूमिका हुन्छ । उनीहरुले पीडित व्यक्तिलाई हौसला दिने, ऊसँग सकारात्मक कुराहरु गर्ने, उसका राम्रा पक्षहरुलाई उजागर गरिदिने, उसलाई व्यायाम र दैनिक कृयाकलापमा लागिराख्न प्रेरणा दिने, उ दुव्र्यसनको कुलतमा फसेको छ भने त्यसबाट छुटाउन मद्दत दिने आदि गरेर पीडित व्यक्तिको मनोबल बढाउन सहयोग गरेमा ऊ छिटो डिप्रेशनबाट मुक्त हुन सक्छ ।

यी सबै कुराहरुको साथसाथै आवश्यकता अनुसार मनोसामाजिक परामर्श दिने विशेषज्ञहरुसंग सम्पर्क राख्ने, र डिप्रेशन गहिरो भएर आत्महत्या जस्ता बिचारहरु आउँछन् भने मानसिक रोग विशेषज्ञसंग राय सल्लाह र उपचार लिन आवश्यक हुन्छ ।

अचेल डिप्रेशन धेरै जनालाई हुने हुनाले यसका लागि हिनताबोध गर्नु पर्दैन । मानसिक रोग बिशेषज्ञसँग उपचार गराउने भन्नासाथ नकारात्मक रुपमा लिएर सामाजिक बिभेद होला भनेर धक मान्नु पनि आवश्यक छैन ।

सामान्य औषधिको सेवनले डिप्रेशनबाट मुक्त हुन सकिन्छ । आफ्ना प्रयासहरु निरन्तर राख्दै चिकित्सकको सहयोग लिएमा सुखी र सफल जीवन जिउन सकिन्छ । मनमा रहेका भ्रमहरु या अतृप्त इच्छाहरुको त्यागद्वारा धारणा, ध्यान र समाधिद्वारा मानिस आफ्नो मनलाई स्थिर राखेर प्रज्ञा हासिल गर्छ भनिएको छ । श्रोत : हाम्रो पात्रो र आवाज खबर

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)