Aamsanchar

विज्ञको सुझाव : भिजेको धानलाई सुरक्षित बनाउन यस्ता उपाय अपनाउनुहोेस्

Author Image
बिहिवार, कार्तिक ४, २०७८

काठमाण्डाै – झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।  

यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्दा  उम्रने सम्भावना रहन्छ ।

धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्ने उहाँले बताउनुभयो । नकाटेको धान डुबेको भए चिन्तित हुन नपर्ने उप्रेतीले बताउनुभयो । नकाटेको धान डुबेको भए पनि पछि झार्दा  धेरै नोक्सान नहुने उहाँको भनाइ छ । लगातारको वर्षाका कारण देशका धेरै ठाउँमा धान बाली डुबेको छ । कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा दाना नै नलागेको धान ढलेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा  भने त्यसलाई  सुरक्षित गर्न नसकिने धानबाली विज्ञ उप्रेतीले बताउनुभयो । 

वर्षाका कारण १० देखि १५ अर्ब रुपैयाँ बराबरको धानबाली नोक्सान भएको सरकारले अनुमान गरेको छ । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन ।

किसानको क्षतिपूर्ति उपलब्ध गराउने एक मात्र उपाय बाली बीमा भए पनि कतिपय किसानलाई अझै पनि बाली बीमाबारे थाहा नभएकाले समस्या निम्तिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर