Aamsanchar

बोर्न क्यान्सर पीडित भद्रपुरकी ९ वर्षीया कोमललाई बचाइदिन अपिल

Author Image
बिहिवार, कार्तिक ४, २०७८

झापा – बोर्न(हड्डी)क्यान्सर पीडित भद्रपुर नगरपालिका- ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजन अपिल परेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको र उपचारमा थप रकम चाहिने भएपछि उनका बुबा बुधकरण कर्मकारले आर्थिक सहयोग गरी छोरी बचाई दिन सबै समक्ष अपिल गरेका हुन । बालिका कोमलको छातीको करङको भित्री भागमा गाँठो पलाएको थियो । त्यसपछि परिवारजनले उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगेका थिए ।

‘२०७७ साल साउनमा ओम साईमा गाठोको शल्यक्रिया गर्‍यो,’ उनका बुबा बुधकरणले भने, ‘शल्यक्रिया राम्रै भयो, गाँठोबाट निस्किएको मासुलाई क्यान्सर परीक्षणका लागि बिर्तामोड पठाइयो, तीन महिनापछि रिपोर्ट आउँदा बोर्न क्यान्सर भएको पुष्टि भयो ।’

‘छोरीलाई क्यान्सर भएको पुष्टि भएपछि परिवारमा बज्रपात आइपर्‍यो,’ उनले भने, ‘छोरीलाई उपचारका लागि चितवन लैजानु पर्‍यो, अलिअलि बचत गरिएको पैसा छोरीको उपचार गराउँदा गराउँदै खर्च भयो ।’ ‘आफूसँग भएको रकम सकिएपछि साहु, आफन्तजन र केही साथीभाइसँग पनि आर्थिक सहयोग मागियो, त्यसले पनि पुगेन,’ उनले भने । उनका अनुसार छोरीलाई केमो दिन एक पटक चितवन पुर्‍याउँदा ३५ देखि ४० हजार खर्च हुन्छ । दसैपछि छोरीलाई चिकित्सकले लिएर आउनु भनेको थियो । पैसा नभएपछि चितवन पनि जानै सकिएन ।

बिर्तामोडमै आधुनिक उपकरणजडित पूर्वाञ्चल क्यान्सर अस्पताल छ, तर पैसा अभाव र भनिदिने कोही नहुँदा त्यहाँ जान नसकिरहेको उनको भनाई छ । बुधकरण बिर्तामोडमा एक पसलमा काम गरी परिवार पाल्दै आएका छन् । एक धुर जमिन समेत नरहेको उनी परिवारसहित अरूको घरमा भाडामा बस्दै जसोत्यसो गुजारा चलाउँदै आएका थिए । छोरीलाई क्यान्सर भएपछि नियमित काम गर्न जान पनि पाइरहेको छुइन, उनले भने, ‘काम गर्नु कि छोरीको उपचार रु, अहिले त परिवारको छाक टार्न पनि धौधौ भइरहेको छ ।’ उनले एक्सेल बैङ्कको एकाउन्ट नम्बर ००९०१०००१४४४३४०००००१ नम्बरमा सहयोग रकम जुटाइदिन सार्वजनिक रूपमै अपिल गरेका छन् । उनले थप कुरा बुझ्न ९८८६३७३७५९ नम्बर फोन गर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)