Aamsanchar

ओलीको गृह जिल्ला झापाका १५ स्थानीय तहमध्ये दुई वटामा मात्र एमालेको सर्वसम्मत नेतृत्व

Author Image
बुधवार, कार्तिक १०, २०७८

झापा- नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका र उनकै निर्वाचन क्षेत्र कमल गाउँपालिका सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले झापाका कार्यालय सचिव शिव ढुंगेलले बताए।

उनका अनुसार दमक नगरपालिकामा गेहनाथ पोखरेल नेकपा एमालेको दमक नगरपालिका नगर कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। यस्तै सचिव पदमा पनि सर्वसम्मत रूपमा इन्द्र गुरुङ चयन भएका छन्।

दमक नगर कमिटीको उपाध्यक्ष र दुई वटा उपसचिव पदमा सर्वसम्मत चयन गर्ने प्रयास जारी छ। ती पदमा आकांक्षीको संख्या धेरै भएकाले सहमतिको प्रयास जारी राखिएको कार्यालय सचिव ढुंगेलले सेतोपाटीलाई बताए। नगर कमिटी सदस्यमा सबै सर्वसम्मत भएको नेकपा एमाले झापाले जनाएको छ।

दमक नगरपालिकामा सबै पदमा नेतृत्व सर्वसम्मत चयन गर्ने प्रक्रिया जारी रहेको बताइएको छ। यता कमल गाउँपालिकामा सबै पदमा नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। नेकपा एमालेको कमल गाउँपालिकाको अध्यक्ष पदमा प्रेमबहादुर पोखरेल सर्वसम्मत चयन भएका छन्। सो कमिटीको उपाध्यक्षमा पृथ्वीपति राई, सचिवमा हरि ढकाल र उपसचिवद्वय पदमा चन्द्रकला ढकाल र वीरेन्द्र अधिकारी लगायत ७५ सदस्य कमिटी चयन भएको छ।

जिल्लाका अन्य १२ पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुने प्रक्रिया जारी रहेको छ। अध्यक्ष पदका आकांक्षीको संख्या धेरै भएपछि सबैको चित्त बुझाउन नेकपा एमाले जिल्ला कार्यसमितिलाई हम्मे(हम्मे परेको छ।

जिल्लाका १५ पालिकामध्ये कम्तीमा ७५ प्रतिशत पालिकामा नेकपा एमालेको नेतृत्व सर्वसम्मत चयन हुने जिल्लाका एक नेताले बताएका छन्। नेतृत्व चयन गर्न बाँकी रहेका पालिकामा बुधबार बिहान १० बजेदेखि पहिला छलफल, सहमति र समझदारीमा नेतृत्व चयन हुने भएको नेकपा एमाले झापाले जनाएको छ। सहमतिमा नेतृत्व चयन नभए त्यसपछि निर्वाचन विधिबाट नेतृत्व चयन हुने नेकपा एमाले जिल्ला कार्यसमिति झापाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर