Aamsanchar

मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा

Author Image
बुधवार, कार्तिक १०, २०७८

 

काठमाडौं : बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्।

उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत दिइन्।

गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे शाक्यले आजको प्रदेशसभा बैठकमा उत्तर दिएकी थिइन्। राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाइने बताइएको छ।

आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका थियो। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसके पनि मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै मतदान प्रक्रियामा जानुनपरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको बताए।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। नेकपा एमालेका १३ सांसद् एकीकृत समाजवादीतिर लागेपछि शाक्य अल्पमतमा परेकी थिइन्।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर