काठमाडौं –नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षका लागि सम्झौता नवीकरण गरेको बताएका छन् ।
“एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघका पदाधिकारीसँगको छलफलपछि मैले नेपाली टोलीसँगको सम्झौता तीन वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छु् । त्यसका लागि सहयोग गर्नुहुने कतार फुटबल संघ र सबैलाई धन्यवाद दिन चाहन्छु,” अल्मुताइरीले समर्थकलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
आजै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि मुख्य प्रशिक्षक अल्मुताइरी थप दुई वर्षका लागि नेपाल आउने बताएका थिए । यसअघि अल्मुताइरीको सम्झौता २०२२ सेप्टेम्बरसम्म थियो ।
“नयाँ मिसनका लागि शुभकामना छ । छिट्टै अर्को दुई वर्षका लागि हाम्रो लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ । भविष्यको नेपाली फुटबल टोली अझ राम्रो हुने प्रतिवद्धता व्यक्त गर्दछु । तर त्यसका लागि केही समय लाग्छ,” अल्मुताइरीले भनेका छन् ।