Aamsanchar

भद्रपुर–गलगलिया सीमानाका २० महिनापछि खुल्यो

Author Image
बिहिवार, कार्तिक ११, २०७८

 

झापा – झापाको भद्रपुर–गलगलिया सीमानाका करिब २० महिनापछि आज (बिहीबार) सहज भएको छ। कोरोना महामारीले लामो समयदेखि बन्द रहेको भद्रपुर–गलगलिया सीमा सरकारले खोल्ने निर्णय एक महिनाअघि गरेको थियो। तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सीमानाका खोलेका थिएनन्। एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबार नाका सहज गरेको हो।

भारतीय एसएसबीले दुई मात्रा खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र नागरिकताका आधारमा भारत प्रवेश गर्ने अनुमति दिन थालेको छ।

एसएससीले सीमा हेल्थ डेस्क राखेर यात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाएको छ। हाल दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो। असोज १६ गते नै भद्रपुर सीमा नाकामा हेल्थ डेस्क राख्ने भद्रपुर नगरपालिकाले तयारी गरेको थियो।

तर, भारतीय पक्षले नमानेपछि सीमा हेल्थ डेस्क त्यस बेला राखिएन। भारतले नाका बिहीबार सहज बनाए पनि भद्रपुर नगरपालिकाले स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क नराख्दा मेची पुलमा दुवै देशका नागरिकलाई नेपालतर्फका सुरक्षाकर्मीले रोकेर राखेका छन्।

हेल्थ डेस्क राख्ने विषयमा नगरपालिकासँग सहजीकरण भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए।

हेल्थ डेस्क राखेलगत्तै दुवै देशका नागरिकलाई खोप कार्ड, पिसिआर रिपोर्ट, नागरिकता वा मतदाता परिचयपत्र देखाएर आवतजावत गर्ने दिने उनले बताए।

यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाका सहज भएको जानकारी भर्खरै गराइसकेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताए।

सीमा हेल्थ डेस्क राख्न आजै स्वास्थ्यकर्मी पठाएर नाका सहज गरिने उनको भनाई छ। सरकारले भद्रपुर नाकामा ३७ करोड रूपैयाँ लागतमा मेची पुल बनाएको छ।

कोरोना महामारीका कारण लामो समय सीमानाका सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले मेची पुलको उपयोग गर्नबाट पनि वञ्चित हुनु परेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर