
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर जाने क्रममा शुक्रबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा


संखुवासभा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम पहिचानका आधारमा राखिने बताएका छन्।संखुवासभाको तुम्लिङटार विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दे मुख्यमन्त्री राईले प्रदेश १ को नामकरण पहिचानका आधारमा गरिने बताएका हुन्।
प्रदेश १ को नाम पहिचान, बहुपहिचानका आधारमा सहमतिमा छलफलबाट टुङ्गो लगाउने उनले बताए।

गृहजिल्ला भोजपुर जाने क्रममा तुम्लिङटार विमानस्थलमा मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नेबारे संसदमा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताए।
प्रदेशको नाम कोशी, किराँत वा सगरमाथासँग जोडेर राखिने उनले बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल थाल्ने मुख्यमन्त्री राईले बताए।
प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरेर टुङ्गो लगाउने उनको भनाइ छ।
प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
यसअघिको सरकारले संसदमा छलफल, प्रयास नगरेकाले प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनको भनाइ थियो।
शेरधन राई नेतृत्वको एमाले सरकारले प्रदेशको नाम राख्न कुनै पहल नै नगरेको आरोप उनले लगाए।
प्रदेशको नाम राख्न दुई तिहाइ मत आवश्यक पर्ने भएकाले दलका प्रमुख र सांसदहरूसँग छलफल गर्ने उनले बताए।
प्रदेश १ को नाम आफ्नै कार्यकालमा राखिनेमा ढुक्क हुन मुख्यमन्त्री राईले आग्रह गरे।
तिहारपछि संसद सुरु हुनासाथ प्रदेशको नामकरणका लागि छलफल थाल्ने र संसदमा विषय प्रवेश गराउन तथा प्रक्रियामा लैजान विषयगत समितिमार्फत अघि बढाउने उनले बताए।
मुख्यमन्त्री राई तिहार मनाउन शुक्रबार दिउँसो तुम्लिङटार विमानस्थल हुँदै गृहजिल्ला भोजपुरको षडानन्द नगरपालिका लागेका छन्।

