इलाम-किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा आगामी मंसिर ११ गतेदेखि १४औं संस्करणको आत्मानन्द कप आयोजना हुने भएको छ। माङसेबुङ गाउँपालिका-५ मा हुने प्रतियोगिता मंसिर १७ सम्म सञ्चालन हुनेछ।
आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टीम सहभागी हुने जनाइएको छ। प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, गोधुली क्लब धरान, फिदिम स्पोर्टिङ क्लब पाँचथर‚ झापा-११, बिबिएफसी दमक, रेडहर्ष इलाम, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजंगा स्पोर्टिङ क्बल मोरङ सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए।
प्रतियोगिताको विजेताले ३ लाख १६८ रुपैयाँ र उपविजेताले २ लाख १६८ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा २०६५ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको छ।
यस्तै‚ जन्मोत्सवको अवसरमा म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, छेलो, धनुकाँड, कराँतेलगायतका खेल आयोजना हुने तय भएको छ।
म्याराथनका प्रथमले १० हजार १६८ रुपैयाँ, द्वितीयले ८ हजार १६८ रुपैयाँ, तृतीयले ६ हजार १६८ रुपैयाँ र सान्त्वनाले नगद ४ हजार १६८ रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए। त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने उनको भनाइ छ।