Aamsanchar

दीर्घरोगीका लागि दिन लागेको फाइजर खोप ढुक्क भएर लगाउन आग्रह, प्रभावकारिता ९५ प्रतिशत

Author Image
शनिवार, कार्तिक २७, २०७८

काठमाण्डौ – दीर्घरोगीका लागि दिन लागेको कोरोना भाइरस विरुद्धको फाइजर खोप ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । फाइजर खोपको अभियान भोलिदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुँदैछ ।

खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो खोप दीर्घरोगीलाई लगाइसकेपछि बालबालिका लगाइनेछ । नेपाललाई अमेरिकाले एक लाख ६ सय २० मात्रा फाइजर खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएको जानकारी दिनुभयो। उहाँले आउँदो पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने जानकारी दिनुभयो ।

खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाइ लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुईरतीन दिनमा सिटामोल खाएपछि सञ्चो हुने डा सिंहले बताउनुभयो । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर