

काठमाडौं : हिमाली बाहेकका जिल्लामा आज नेपाली काँग्रेसको प्रदेशसभा अधिवेशन हुदैछ। प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा आउने छन्।

पहिलो पटक प्रदेशसभा अधिवेशन गर्न लागेको काँग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो। ‘पहिलो पटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको कार्यसमिति चयन हुनेछ,’ निर्वाचन समितिका सचिव केशव रिजालले भने, ‘३३० वटा प्रदेशसभाबाट आउनेको सङ्ख्या करिब ९ हजार हुनेछ, यो पुरै नयाँ नेतृत्व हो।’
उनकाअनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सह(सचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् भने नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत अर्थात् ४ जना मनोनीत गर्नेछन्। सर्लाहीसहित केही वडामा अधिवेशन हुन नसकेकाले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन भने नहुने सम्भावना देखिएको छ। ‘सर्लाहीलगायत केही जिल्लामा वडा र स्थानीय तहको अधिवेशन हुन नसकेकाले ३३० प्रदेशसभामा अधिवेशन हुन नसके पनि गराउने प्रयत्न जारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन। उनकाअनुसार आज सम्पन्न हुन प्रदेशसभा अधिवेशन हुन नसकेमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति पदका उम्मेदवारका लागि ५ हजार, उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन्।

