Aamsanchar

बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका एक युवकको हत्या, ६ जना पक्राउ

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

 

       

जाजरकोट : मेला हेर्न गएका जाजरकोटमा एक युवकको हत्या भएको छ। भेरी नगरपालिका ३ स्याला निवासी १८ वर्षीय प्रकाशजंग शाहको हत्या भएको हो । पश्चिम रुकुम आठवीसकोट बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो ।

भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाहसहितका साथीहरुसँग विवाद भएको थियो। विवाद बढ्दै जाँदा उनीहरु बीच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो ।

केही बेरपछि मिलापत्र गरेका उनीहरुबीच बेलुका पुनः झगडा भएको थियो । झगडा भएपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाशको भने हत्या भएको थियो। उनी घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिन पछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका १ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केशबहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।

घटनाको प्रकृति, शवको पोष्र्टमार्टम रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डीएसपी थापाको भनाइ छ । घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिइएका अन्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको प्रहरीको भनाइ छ । मृतक प्रकाश स्थानीय त्रिभुवन मावि खलंगामा ११ कक्षामा अध्ययरत थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर