आज हाम्रो समाजको विभिन्न क्षेत्रमा अपवाद बाहेक ६० वर्ष भन्दा माथि कटेका व्यक्तिहरूले नेतृत्व गरिरहेका छन्। चाहे त्यो राजनीति होस् वा सामाजिक क्षेत्र नै। यी सबै देशका प्रमुख स्थानहरूमा युवाहरूको उपस्थिति नगण्य रहेको छ। त्यसैले आम जनमानसमा पनि अहिले युवा नेतृत्वबारे छलफल हुन थालेको छ र वर्तमान नेतृत्वबाट अपेक्षा गरेबमोजिम काम कारवाहीहरू नहुँदा अझ तत्काल युवाहरूलाई नेतृत्वदायी भुमिकामा देख्न चाहानेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। तर यसरी सिङ्गो समाजले नै आशाको नजरले हेरिरहेको र आफैंमा एउटा ऐतिहासिक जिम्मेवारी बोकेको युवा शक्तिहरू चाहिँ कस्तो मनोदशाबाट गुज्रिरहेका छन् र नेतृत्व लिनको लागि युवाहरूमा सामान्य केही सैद्धान्तिक र वैचारिक ज्ञान हुन कत्तिको महत्त्वपूर्ण छ ? भन्नेबारे यो लेखमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ।
वर्तमान हाम्रो समाजले पद र पैसा बिनाको मानिस यो लोकको सबैभन्दा ‘निम्छरो र निकम्मा’ व्यक्तिको रूपमा बुझ्छ र प्रचार गर्ने गर्छ। समाजको सबैभन्दा महत्त्वपूर्ण अंग मानिएको तर आफूलाई एउटा सचेत युवाको रूपमा विकसित गरि नसकेका आम युवाहरूमा पनि यस विचारको प्रभाव व्यापक रूपमा परेको पाइन्छ। किनकि कुनैपनि व्यक्तिको राम्रो वा नराम्रो चरित्र निर्माण हुनुमा समाजको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ। यस अर्थमा तत्काल यो स्वाभाविक जस्तो पनि देखिन्छ। तर यसैको परिणाम स्वरूप युवाहरू आफ्नो वैयक्तिक जीवनको विकास र समाज रूपान्तरणको निम्ति भन्दा, को बढी र छिटो धनी बन्ने अस्वाभाविक र अस्वस्थ दौडमा आफूलाई सामेल गराई रहेका छन्। जुन दौडमा न मानवता हुन्छ, न त कुनै सिर्जनशीलता नै, न लक्ष्य भेटिन्छ न त कुनै उद्धेश्य नै प्राप्त गर्न सकिन्छ। अन्त्यमा यस्ता दौडले यात्री स्वयंमलाई थकित तुल्याउँछ र सजिलो बाटो खोज्न थाल्छ। त्यो सजिलो बाटो भनेको कसैको जी हजुरी, चाकडी, चाप्लुसी र हनुमान बन्नुमा छ। त्यसैले आज अधिकांश युवाहरू समाजका कथित ‘वरिष्ठ’ हरूको हनुमान बनेर आफ्नो स्वतन्त्र अस्तित्व र स्वाभिमान माथि नै आफैं प्रहार गरिरहेका छन्। जसको दुखाइ कति गहिरो र पिडादायी हुन्छ भन्नेकुरा, एउटा सचेत युवा मस्तिष्कले मात्र बुझ्न र अनुभूत गर्नसक्छ। यसरी पदप्रतिको लालसा र त्यसको दुरुपयोग आज हाम्रो समाजको विकराल समस्या बनेको छ। जुन समस्याबाट आजका अधिकांश युवाहरूपनि ग्रस्त छन्। यस्तो पैसाको भोक र पदको तृष्णाले आकुलव्याकुल मनोदशाबाट ग्रसित युवाहरूले समस्या समाधानको रोडम्याप कोर्ने होइन, बरू झन् समस्या उत्पादन गर्ने निश्चित छ।
त्यसैले ‘युवा नेतृत्व नहुनु नै समस्याको मुल जरो हो त ?’ यो प्रश्नको उत्तर नखोजी केवल युवा नेतृत्वमात्र खोज्नु आफ्नो वैचारिक अपरिपक्कता प्रदर्शन गर्नु त हुँदै हो, अहिले हाम्रो समाजमा देखिएको आर्थिक, सामाजिक र राजनीतिक विकृतिलाई थप लामो समयसम्म टिकाइ राख्न मद्धत गर्नु पनि हो। त्यसैले युवा नेतृत्वको माग भइरहँदा, हामीले चाहेका युवा नेतृत्व कस्तो प्रकारको नेतृत्व हो ? भन्नेबारे पनि व्यापक बहसको सुरुवात गर्न जरुरी छ। युवाहरूले आफूलाई नेतृत्वमा स्थापित गराउन र विभिन्न थिचोमिचो र विभेदरहित समाज निर्माणको निम्ति योगदान पुर्याउन चाहाने हो भने, पहिलो आन्तरिक तयारी तिव्र र व्यापक बनाउन जरुरी छ। त्यो आन्तरिक तयारी भनेको सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपमा आफूलाई प्रशिक्षित गर्दै, आफ्नो चेतनाको स्तर उच्च पार्नु नै हो। तर चेतनाको स्तर व्यापक अध्ययन र त्यसको व्यवहारिक प्रयोगले मात्र उच्च हुन्छ। त्यसैले ‘युवा हुनुको नाताले समाजको निम्ति केही गर्नु मेरो पनि दायित्व र कर्तव्य हो’ भनेर सम्झने प्रत्येक युवाहरूले अध्ययनमा व्यापक लगाव राख्न अत्यन्त जरुरी छ। अध्ययनले मात्र आफू बाँचिरहेको समाज भित्र रहेको विभिन्न अन्तरविरोधहरू बारे सहि ज्ञान लिन र बुझ्न मद्धत गर्नेगर्छ। किनकि समस्याको सहि पहिचान गर्न नसक्ने जुनसुकै नेतृत्वले पनि समाधानको सहि बाटो पहिल्याउन किमार्थ सक्दैन।
अर्को पक्ष सैद्धान्तिक र दार्शनिक रूपमा स्पष्ट हुनु ज्यादै महत्त्वपूर्ण छ। किनकि कुनैपनि समस्याको हल दार्शनिक रूपमा नभएसम्म त्यो समस्याको वास्तविक समाधान कहिल्यै हुन सक्दैन। यदि सैद्धान्तिक र दार्शनिक रूपमा अलमलमा परेका युवाहरू नेतृत्वमा स्थापित हुने मौका पाइहाले पनि, त्यस्तो युवा नेतृत्वले सहि निकास दिन सक्दैन। त्यस्तो अवस्थामा उहीँ ‘पुरानै खेलमा नयाँ पात्र थपिने’ काम मात्र हुनेछ। त्यसैले युवाहरूले विज्ञान सम्मत, युग सुहाउँदो र विभिन्नखाले अतिवाद मुक्त दृष्टिकोण निर्माण गर्ने अपहार्य छ। किनकि विभिन्न रुढग्रस्त मान्यताबाट अलग रहेका र वैज्ञानिक दृष्टिकोण अवलम्बन गरेका युवाहरू नै भोलि नेतृत्वमा स्थापित हुने मात्र होइन, काबिल समेत ठहरिने छन्।
त्यस्तै अर्को महत्त्वपूर्ण पक्ष भनेको वर्तमान वस्तुस्थितिसंग आफूलाई अपडेट राख्न जरुरी हुन्छ। देशको राजनीतिमा के भइरहेको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अहिले कस्तो छ, राजनीतिक दलहरू देश र जनताप्रति कत्तिको उत्तरदायी छन्, चुनावमा लेखिने सुन्दर चुनावी घोषणापत्रहरू व्यवहारमा कुन दलले कत्तिको र कसरी कार्यन्वयन गरिरहेका छन् कि छैनन्, कुन राजनीतिक दलको मार्गदर्शक सिद्धान्त के हो, ती सिद्धान्तहरूले वर्तमान हाम्रो समाजको अन्तरविरोधहरूको हल गर्न सक्छ कि सक्दैन र समग्रमा वर्तमान राज्य व्यवस्थाले कुन वर्ग वा जाती, धर्मको पक्षपोषण गरिरहेको छ ? भन्नेबारे ज्ञान नराख्ने हो भने युवाहरू नेतृत्वमा स्थापित हुनेकुरा एउटा स्वैर कल्पना मात्र हुनसक्छ। त्यसैले यस विषयमा पनि युवाहरूले व्यापक रूपमा अध्ययन अनुसन्धान गर्न जरुरी हुन्छ। किनकि देशको भविष्य सधैं युवाहरूको भुमिका र काँधमा निर्भर रहेको हुन्छ।
इतिहासको अध्ययन झन् ज्यादै महत्त्वपूर्ण पाटो हो। किनकि इतिहासको अध्ययनले वर्तमान समस्याको जड पत्ता लगाउन र भविष्यको खाका कोर्न सघाऊ पुर्याउँँछ। तर सबै इतिहासहरू सामाजिक न्याय र समानताको सिद्धान्तमा आधारित नहुन सक्छन्। त्यसैले त्यस्ता इतिहासहरू आजको सन्दर्भ र आलोचनात्मक दृष्टिबाट हेरिनुपर्छ र आवश्यक परेको खण्डमा त्यस्तो इतिहासहरूको पुनर्लेखन गर्ने हिम्मत, आजका युवाहरूले गर्नुपर्छ। किनकि इतिहास कसैको निम्ति गौरव गर्ने र कसैलाई चाहिँ हिनताबोध महसुस हुने नहोस्। त्यो नै वास्तविक र सबैको निम्ति गौरवान्वित हुने इतिहास हो।
माथि उल्लेखित केही तथ्यहरूबाट युवाहरूले आफूलाई नेतृत्वमा स्थापित गराउन र समाजमा एउटा आलोचनात्मक चेत सहितको सचेत नागरिकको भुमिकामा प्रस्तुत गर्न समेत अध्ययनको भुमिका कति महत्त्वपूर्ण रहेछ भन्ने तथ्यको उजागर हुन्छ। युवाहरूलाई सिर्जनशील, सिपमुलक क्षमताको अभिवृद्धि, स्वालम्बी बन्न उद्यमसंग जोड्ने कार्य र आलोचनात्मक दृष्टि सहितको सचेत नागरिक बनाउन राज्यले विषेश नीति बनाएर पहलकदमी लिनुपर्थ्यो, तर अहिले राज्यको तर्फबाट ठोस रूपमा त्यस्तो रचनात्मक र प्रगतिमूलक कार्य भएको छैन। राष्ट्रिय युवा नीति कार्यन्वयनका लागि ‘युथ भिजन २०२५’ निर्माण हुनु ‘राष्ट्रिय युवा परिषद’ गठन हुनु युवाहरूको निम्ति सुखद भएपनि, त्यो खाली जुनसुकै पार्टीको सरकारले पनि आफ्नो कार्यकर्ता ‘भर्तिकेन्द्र’ स्थलमा सिमित गर्नु, ज्यादै नै दुखदपूर्ण कार्य हो। त्यसैले राज्यको यस्तो गलत रवैयाप्रति आम युवाहरूले आलोचनात्मक दृष्टि राख्न जरुरी छ। र आजका राज्य सञ्चालनको तहमा रहेका नेताहरूले युवाहरूलाई भविष्यमा नेतृत्वमा स्थापित गराउने भन्दा, आफ्नो जायज – नाजायज कार्यको भक्तिगान गाउँने, चाकडी –चाप्लुसी गर्ने र आफ्नो वरिपरि घुम्ने पुरानै शैली र संस्कृति अंगालेका केही युवाहरूलाई काखी च्याप्ने र सचेत युवाहरूलाई नजर – अन्दाज गर्ने वा उनीहरूको क्षमताको बध गर्ने कार्य, अघोषित रूपमा गरिरहेको छ। तसर्थ अब युवाहरू कुनैपनि लोभ –लालच र पदको चक्रव्यूहमा नफसी, अध्ययनमा विषेश रूचिका साथ आफ्नो अन्तर– क्षमता अभिवृद्धिमा ध्यान दिंदै, एउटा सशक्त आलोचनात्मक चेत सहितको स्वाभिमानी नागरिकको परिचय बनाउँदै, आफ्नो रचनात्मक र सिर्जनात्मक कार्यद्धारा समाजमा, सामाजिक न्याय सहितको हस्तक्षेपकारी भुमिका निर्वाह गर्न अनिवार्य समयको माग भएको छ।
लेखकको सम्पर्क
https://www.facebook.com/roshan.kulung.9