Aamsanchar

कति घातक छ कोरोनाको नयाँ ‘ओमिक्रोन’ भेरियन्ट ?

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

काठमाडौं – दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ ‘ओमिक्रोन’ भेरियन्ट विश्वका एक दर्जन मुलुकमा फैलिइसकेको छ । ओमिक्रोन संक्रमित देखिएका कतिपय मुलुकहरुले आफ्नो देशमा आवतजावत बन्द गरिसकेका छन् । यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न को वर्गमा राखेको छ । यो भेरियन्टका ३३ भन्दा बढी म्युटेसन अर्थात उत्परिवर्तित रुप रहेको पाइएको छ । दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनले ओमिक्रोनलाई ‘म्युटेसनको असामान्य समूह’ को रुपमा व्याख्या गरेको छ ।
 
त्यस्तै दक्षिण अफ्रिकाको युनिभर्सिटी अफ क्वाजुलु नटालमा प्राध्यापक रहेका रिचर्ड लेसल्सले ओमिक्र्रोन एक अर्कामा छिटो फैलिने क्षमता राख्ने भएकाले नै चिन्ताको विषय भएको बताएका छन् । यो भेरियन्टका कारण दक्षिण अफ्रिकी मुलुकहरुमा मात्रै एक सातामा २०० प्रतिशतभन्दा बढी केसहरू बढेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
ओमिक्रोन कति घातक ? अनुसन्धान हुँदैछ  : डब्लूएचओ 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । संगठनले आइतबार विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, सामाजिक दूरी, जनस्वास्थ्यका मापदण्ड साथै खोप कार्यक्रमलाई तीब्रतका साथ लानुपर्ने उल्लेख गरेको छ । डब्लूएचओले ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्नको वर्गमा राखे पनि यसको असरबारे अनुसन्धान भइरहेकाले अनावश्यक अफवाह नफैलाउन आग्रह गरेको छ । संगठनले ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।

आइतकबार सूचना जारी गर्दै संगठनले विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरनाक स्वरुपका बारेमा स्पष्ट नभएको जनाएको छ । साथै यसको असरबारे सबै कुरा प्रष्ट नभएसम्म अड्कलबाजीका आधारमा धारणा प्रस्तुत् नगर्न पनि सरोकारवालाहरुलाई सचेत गराएको छ  । यद्यपि, दक्षिण अफ्रिकाका विभिन्न प्रान्तमा ओमिक्रोन पत्ता लागेपसछि कोभिड संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या भने बढिरहेको जनाएको छ ।  

किन राखियो ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ को वर्गमा ?
विश्व स्वास्थ्य संगठनको अनुसन्धानबाट तीब्र गतिमा फैलिइरहेको र धेरै संक्रामक पाइएको भेरियन्टलाई भेरियन्ट अफ कन्सर्नको रुपमा वर्गीकृत गर्ने गरेको छ । यसअघि फेला परेका भेरियन्टभन्दा फरक प्रकृतिको भाइरसमाथि संगठनले थप अनुसन्धान अघि बढाउँछ । यही क्रममा अहिले ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्नको वर्गमा राखिएको हो । संगठनले हालसम्म अल्फा, बिटा, गामा र डेल्टालाई भेरियन्ट अफ कन्सर्न’मा राखेको छ । यी चारवटा भेरियन्ट विश्वका विभिन्न मुलुकमा अरुभन्दा बढी मात्रामा फैलिएका थिए ।

नेपालमा पनि कोभिड–१९को दुईवटा लहरमा सबैभन्दा बढी डेल्टा भेरियन्ट फैलिएको थियो । ओमिक्रोनको हकमा दुबै डोज खोप लगाएकाहरु पनि संक्रमित भइरहेकाले यो भेरियन्टविरुद्ध खोप प्रभावकारी नभएको वैज्ञानिकहरुले अनुमान गरेका छन् । तर, खोपको प्रभावकारिताबारे पनि अनुसन्धान भइरहेकाले विश्व स्वास्थ्य संगठनले अहिले नै यसबारे केही भन्न सकिने अवस्था नरहेको जनाएको छ ।
   
नेपालमा ओमिक्रोन भित्रिन नदिन के गर्दैछ सरकार ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट नेपाल भित्रिनसक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबै नागरिकलाई अनुरोध गरेको छ । गृह मन्त्रालयले आइतबारदेखि दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृहले कुटनीतिक, सरकारी औपचारिक र आपतकालीन काम बाहेकका अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाएको हो । अध्यागमन विभागले आइतबारदेखि नै निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा नाकामा पनि कडाइ गरेको छ । विभागले दक्षिण अफ्रिकी मुलुकहरुबाट ती देशका नागरिकलाई प्रवेश रोक लागएपनि नेपाली नागरिकलाई भने आउन दिइने तर उनीहरुलाई विमानस्थालमा नै स्वास्थ्य जाँच गरी होटेल क्वारेन्टिनमा राखिने जनाएको छ । त्यसैगरी कुटनीतिक, सरकारी औपचारिक र आपतकालीन कामका लागि आउने व्यक्तिले पनि सरकारले तोकेका होटेलमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । 

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर