Aamsanchar

आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने लिङ्देनकाे भनाइ

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

     

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताएका छन् ।

आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा व्याख्या गरे ।

राप्रपाका एकजना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेको जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले सो कुरा बताएका हुन् ।

राप्रपा अध्यक्ष कमल थापाले लिङ्देनलाई अझै चार वर्ष पर्खिन गरेको आग्रहको जवाफ पनि लिङ्देनले सोही कार्यक्रममा दिए । उनले भने, ‘मैले उम्मेदवारी घोषणा गर्दैमा कसैले अपमानित हुनु पर्दैन । म बन्नुमा उहाँको (कमल थापाको) पनि लगानी छ ।’

पुस्ता र उमेरको कुरा गरेर मात्रै अध्यक्षको उम्मेदवार बन्ने घोषणा नगरेको बताउँदै उनले भने, ‘उमेर र पुस्ताको कुरामात्रै होइन । उमेरको कुरा गर्ने हो भने राजाको आशिर्वाद लिएर ३०-४० वर्षको उमेरमा मन्त्री भएका थिए । त्यसबेला हामीले सोधेका थियौं र ? यो राप्रपा मात्र होइन, देश बचाउने सन्देश लिएर जाने कुरा हो ।’राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरका मान्छे पनि पार्टीमा ल्याउनुपर्ने बताउँदै उनले कार्यकर्ताको कुरा सुन्न थापालाई आग्रह गरे । ‘राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरको मान्छे ल्याउनुपर्छ । सम्पूर्ण कार्यकर्ताको कुरा सुन्नुस्, यहाँभन्दा बाहिरको कुरा सुन्नुस् ।’ राप्रपाभित्रको कुरामात्रै सुन्दा तीन प्रतिशतमा खुम्चिनुपरेको कुरालाई स्मरण गर्न उनले आग्रह गरे ।

राप्रपाको नेतृत्व परिवर्तन नभए अन्य दलको दलाली गरेर दुई-चारवटा मन्त्री पद पाउने पार्टीमात्रै हुने बताउँदै उनले भने, ‘मेरो कल्पनाको, सपनाको पार्टी त्यो होइन । राप्रपालाई अग्रजहरुकै सल्लाहमा, उपस्थितिमा एक नम्बर पार्टी बनाउने अभियान हो ।’

लिङ्देनले राप्रपाका अन्य दुई अध्यक्ष (कमल थापा र पशुपति शम्सेर जबरा)लाई पनि समर्थन गरिदिन आग्रह गरे । लिङ्देनले ६ महिनाभित्र राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने साना पार्टी र संस्थासँग मिलेर संयुक्त आन्दोलन गर्ने पनि बताए ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर