काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको ५३ औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल गरेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । खेलको ६० औँ मिनेटमा रवि पासवानको पासमा सुमन लामाले झन्डै सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।
याे बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्क तालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२ औँ स्थानमा छ ।