

काठमाण्डाै – नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुनुहुन्छ । गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । गुरुङ केन्द्रीय सदस्य हुनुहुन्छ ।
यस्तै अरु पनि उम्मेदवारी दर्ता गराउने क्रममा रहेका छन् । उम्मेदवारी दर्ता सुरु भइसक्दा पनि संस्थान इतर समूहले भने अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन ।

हिजो बेलुकी अबेरसम्म भएको छलफलमा पनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाको अडान कायमै छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति जुटाउने प्रयास भए पनि सिंह र कोइरालाले अडान नछाड्दा टुङ्गो लाग्न नसकेको हो । कांग्रेस विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् ।
कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।


