Aamsanchar

माग अनुसारको आपूर्ति हुन नसक्दा रासायनिक मलको अभाव

Author Image
शनिवार, मंसिर २५, २०७८

काठमाण्डौ – माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो ।

मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ । निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणले पर्याप्त मल ल्याउन नसकेको जनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय बजारमा ३ सयदेखि ३ सय ५० प्रतिशतसम्म मूल्य वृद्धि भएकाले थप मल ल्याउन प्रक्रिया अगाडि बढाउन समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले बताउनुभयो । धान बालीका लागि जेनतेन जोहो गरेका किसानले गहुँ खेतीका लागि फेरि मल अभाव झेलिरहेका छन् ।

किसानले हरेक सिजनमा रासायनिक मलको अभाव झेल्नुपर्ने ‘नियति’ नै बनेको छ । बर्खामा रोपाइँका बेला होस् वा गहुँ छर्दा, समयमै कहिल्यै मल पाउँदैनन् । धेरै ठाउँका किसानले डीएपी मलविना नै गहुँ छरिरहेका छन् ।

मल विना नै हिउँदे बाली लगाउँदा राम्ररी उत्पादन नहुने भन्दै किसान चिन्तित भएका छन् । यस्तै चैते धानबालीका लागि अहिले नै मल ल्याउनका लागि बोलपत्र आह्वान गर्नुपर्ने भए पनि सरकारले त्यसो गर्न नसक्दा चैते धानका लागि झनै मलको अभाव हुन सक्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 479

प्रतिक्रिया (०)

सम्बन्धित खबर