काठमाडौँ — कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

अहिलेसम्म २ हजार ७ सय ७७ मत गणना हुँदा देउवाले १३१८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १०२३ र प्रकाशमान सिंहले २०५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १६६ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Views: 289

