

इस्लामाबाद : पाकिस्तानको कराँचीमा शनिबार दिउँसो भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। कराँचीको शेरशाह क्षेत्रको पर्चा चोक नजिकै विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।

विस्फोटमा परी घाइते भएका १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ। प्रहरी अधिकारी जफर अली शाहले निजी बैंक मुनिरहेको नालामा विस्फोट भएको बताए।
स्थानीय प्रशासनले नाला सफा गर्न सूचना दिएको प्रहरीको दाबी छ। तर ठाउँ खाली नहुँदा नाला सफा गर्न ढिलाइ भएको थियो।

विस्फोटबाट बैंक भवन र नजिकैको पेट्रोल पम्पमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। भवनमुनिको नालामा ग्यास जम्मा भएकाले विस्फोट भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ताले पछि विस्फोटस्थलको अनुसन्धान गर्न बम डिस्पोजल टोली बोलाइएको बताए। टोलीले प्रतिवेदन बुझाएपछि मात्रै विस्फोटको कारणबारे आधिकारिक जानकारी दिन सकिने बताइएको छ।
सिन्ध रेन्जर्सले विस्फोटको सूचना पाएपछि अधिकारीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र क्षेत्रलाई घेराबन्दी गरेको जानकारी दिएको छ।
विस्फोटको फुटेजमा क्षतिग्रस्त भवन र भग्नावशेष जमिनमा परेको देखाइएको छ। विस्फोटस्थलमा तोडफोड भएका सवारीसाधन पनि देख्न सकिन्छ।
घटनास्थलमा रहेको भग्नावशेष हटाउन स्थानीयले पनि सहयोग गरिरहेका छन्। भवनको भग्नावशेषमुनि अझै धेरै मानिस फसेको खबर पनि आएको छ।

