Aamsanchar

गोलबजारमा युवाहरुको समूहबीच छुरा हानाहान, एक जनाको मृत्यु, अर्का एक गम्भीर

Author Image
आइतवार, पौष ४, २०७८

सिरहा : सिरहाको गोलबजार नगरपालिका–६ मा शनिबार राती युवाहरुको समूहबीच सामान्य विवादमा छुरा हानाहान हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते छन् । छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छातीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सदायकै समूहका १९ वर्षीय रितेश सदाय गम्भीर घाइते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए ।

आइतबार बिहानैदेखि डोहटिया टोलका बासिन्दा गोलबजारमा आएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारे । उनीहरु इलाका प्रहरी कार्यालय गोलबजार अगाडि र राजमार्गको विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरु बजारसमेत बन्द गराउँदै हिँडेका थिए ।

अहिले पीडित पक्ष र स्थानीयबीच सहमति भइसकेको छ। दोषीलाई २४ घण्टाभित्र कारवाही, घाइतेलाई उपचार र मृतक परिवारलाई पूर्ति उपलब्ध गराउने सहमति भएको हो ।  विवाद के विषयमा भएको त्यो अहिलेसम्म नखुलेको डीएसपी बुढाथोकीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

स्थानीयका अनुसार मृतक र घाइतेलगायत ५/६ जना मजदुरी गर्छन् । उनीहरु राती कामबाट घर फर्किँदै थिए। अर्को समूहले गालीगलौज गर्दा विवाद बढेको थियो । उनीहरु मध्ये अधिकांशले मादक पदार्थ सेवन गरेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर