Aamsanchar

कांग्रेस प्रदेश २ अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु

Author Image
बिहिवार, पौष ८, २०७८

काठमाडौं –​ नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तरगत प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।  आज विहान आठ बजेदेखि हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो। मतदानमा संस्थापन पक्षका उम्मेदवार कृष्ण प्रसाद यादवले पहिलो मतदान गरे । त्यसपछि सभापतिका अर्का उम्मेदवार कोइराला समुहका राम सरोज यादवले मतदान गरेका छन्।

मतदानका ४ वटा बुथ बनाइएको छ। एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ। सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ।

हिजो नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले हिजो साँझ मतदान प्रक्रिया स्थगित गरी आजेदेखि सुरु गर्नेगरी मतदानको समय तोकेको हो।

सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने इतर पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेको निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा २ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर