Aamsanchar

पञ्चरत्नका सबै विद्यार्थीलाई निःशुल्क न्यानो कपडा

Author Image
बिहिवार, पौष ८, २०७८

चारपाने । जाडोको मौसम सुरु भएसंगै तराईका जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित हुनेगरेका छन् । विपन्न, श्रमजिवी परिवारका बालबालिकाहरु अध्ययन गर्ने सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीहरु जाडो मौसममा विद्यालय नजाने समस्या रहेको छ । त्यस्तै विद्यालयहरु मध्यको एक विद्यालय हो झापा बिर्तामोड नगरपालिका वडा नम्बर २, चैतुवारीमा रहेको पञ्चरत्न माध्यमिक विद्यालय । सो विद्यालयमा उद्योग र कृषि मजदुरका छोरा छोरीहरु धेरै पढन जाने गरेका छन् । विगतका बर्षहरुमा जाडो मौसममा विद्यार्थीहरु स्कुल नआउने समस्यालाई मध्ययेनजर गरेर यस बर्ष विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको छ । विद्यालयको बर्तमान अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला जनप्रतिनिधी वडा नम्बर २ का वडाध्यक्ष पनि भएकोले पञ्चरत्नलाई समय साक्षेप भौतिक तथा शैक्षिक विकास गरेर देखाउनु पर्ने सामाजिक जिम्मेवारी संग्रौलाको काधमा आईपरेको छ । संग्रौला पनि समस्यालाई समाधानको बाटोतर्फ डोहोर्याउन कम्मर कसेर लागि परेका छन् ।
अध्यक्ष संग्रौलाको पहलमा आज (बिहिबार) बिर्तामोडका तिनवटा संस्थाले विद्यार्थीहरुका लागि न्यानो कपडा स्वीटर उपलब्ध गराएका हुन् । बिर्तामोड–२, चारपानेमा रहेको सहारा नेपाल साकोस, बिर्तामोड–४ मा रहेको शिक्षा साकोस र बिर्तामोड १ का १३ जना महिलाहरुको सहयोगमा स्वीटर उपलब्ध गराईएको हो । कक्षा सिसु देखि १० सम्म अध्यनरत ३ सय १३ जना विद्यार्थीलाई औपचारिक कार्यक्रम मार्फत स्वीटर वितरण गरिएको थियो ।

स्वीटर खरिदका लागि सहारा नेपालबाट ५१ हजार, शिक्षा सहकारीबाट ३० हजार ७ सय र महिला समूहको तर्फबाट ३८ हजार सहयोग प्राप्त भएको अध्यक्ष संग्रौलाले जानकारी दिए । जिउ ढाक्ने स्वीटर भयो तर टोपी जुत्ता मोजा दिने दाताको खोजीमा रहेको अध्यक्ष संग्रौलाले बताए ।

स्वीटर वितरण कार्यक्रममा शिक्षा सहकारीबाट अध्यक्ष सुब्रत न्यौपाने सहितको पदाधिकारीहरु र महिला समूहको तर्फबाट दीपा प्रसाईं, अर्चना राउत, दीपा थापा, जुनिता ओलीले विद्यार्थीहरुलाई स्वीटर लगाई दिएका थिए । महिला समूहलाई सहयोग गर्नको लागि ओमभक्त प्रसाईंले सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको सभाअध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख केशरबहादुर खवासको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा शिक्षा साकोसका अध्यक्ष सुब्रत न्यौपाने, प्रधानाध्याक योगेन्द्रमणी दाहाल, पूर्व अध्यक्ष डोमालाल राजवंशी, पिटिए अध्यक्ष जंगबहादुर श्रेष्ठ लगायतले पञ्चरत्नको भौतिक र शैक्षिक विकासको बारेमा चासो व्यक्त गरेका थिए ।

विद्यालयका इन्चार्ज शिक्षक यामनाथ प्रसाईंले स्वागत गरेका थिए भने संचालन शिक्षक लक्ष्मण दाहालले गरेका थिए । कार्यक्रममा सय भन्दा धेरै अभिभावकहरुको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)