इटहरी । सुनसरीको इटहरीमा यहि माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ । शुक्रबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो ।
कोभिड १९ का कारण थला परेको खेलक्षेत्र बिस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेलक्षेत्रको बिकासमा थप सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षले बताएको छ । प्रतियोगिताबारे जानकारी दिदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताउदै त्यसैको निरन्तरता स्वरूप खेल बिकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै प्रतियोगिताको सफलताको शुभकामना दिदै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले नगरपालिका गोल्डकपले नगरपालिकाहरूले खेलक्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन समेत हुने बताइन् । उनले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागीता जनाउने बताउदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिइन् ।
हालसम्म प्रतियोगितामा ८ वटा नगर सहभागीताका लागि इच्छुक रहेको आयोजक पक्षको भनाइ छ । इटहरी स्थित जनता मा।वि।को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।