Aamsanchar

मोरङमा एकैदिन पोखरीमा डुबेर र हाँगाले लागेर २ जनाको मृत्यु

Author Image
शनिवार, पौष १०, २०७८

मोरङ : मोरङमा एकैदिन दुई जनाको मृत्यु भएको छ । मोरङको जहदा पोखरीमा डुबेर र केराबारीमा रुखको हाँगाले लागेर दुई जनाको मृत्यु भएको हो । घटनामा वृद्धा महिला र एक जना पुरुषको मृत्यु भएको हो ।

नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकमा रहेको पोखरीमा डुबेर जहदा गाउँपालिका–१ की ८५ वर्षीया वृद्धा गोलियादेवी वैठाको मृत्यु भएको छ । भेडियारीस्थित छोरीको घर जान्छु भनेर हिँडेकी वैठाको शव शुक्रबार साँझ पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको  मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार छोरीको घर नपुगेकी वृद्धाको खोजी गर्ने क्रममा शुक्रबार साँझ ६ः५० बजेतिर पोखरीमा डुबेको अवस्थामा शव भेटिएको हो । शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

यस्तै रुखको हाँगाले लागेर मोरङकै केराबारी गाउँपालिका–७ का ४८ वर्षीय नेत्र राना मगरको मृत्यु भएको छ । सुँगुरलाई चारो खोज्न जंगलमा गएका बेला रुखको हाँगाले लागेर उनी गम्भीर घाइते भएका थिए ।

मगर सुँगुरलाई चारो खोज्नका लागि घरनजिक रहेको त्रिवेणी सामुदायिक वनमा शुक्रबार बिहान ८ बजेतिर साथीहरुसँग गएका थिए । त्यस क्रममा आफैले काटेको रुखको हाँगाले लाग्दा उनी गम्भीर घाइते भएका थिए । मोरङ प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भाग्दाभाग्दै रुखको हाँगाले लागेर घाइते भएका मगरलाई उद्धार गरेर उपचारका लागि लैजान ढिलो गरिएको पाइएको छ । घना जंगल क्षेत्रमा घटना भएकाले त्यहाँबाट उद्धार गरेर उपचारका लागि लैजान ढिलो भएका कारण उनको ज्यान गएको प्रहरीको भनाइ रहेको छ । बिहान ८ बजेतिर घाइते भएका उनलाई उपचारका लागि दिउँसो १ बजेतिर मात्रै अस्पताल पुर्याइएको थियो ।

‘अस्पतालमा भर्ना गरेको केही बेरमै मगरको मृत्यु भयो,’ डीएसपी श्रेष्ठले भने, ‘प्रहरीले अहिले घटनाका बारेमा अनुसन्धान थालिरहेको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 512

प्रतिक्रिया (०)

सम्बन्धित खबर