काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश-१ फाइनलमा पुगेको छ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराउँदै प्रदेश-१ फाइनलमा पुगेको हो । धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाउँदै ८५ रन बनायो ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन तथा कप्तान रितु कनोजियाले २५ रन जोडिन् ।
अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश-१ का ज्योती दनुवार, अलिशा खडिया, रुविना क्षेत्री र संगिता राईले एक/एक विकेट लिए ।
८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले १६ ओभर पाँच बलमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
प्रदेश-१ को जितमा कप्तान रुविना क्षेत्रीले ३१, काजल श्रेष्ठले २८ र अप्सरी बेगमले आठ रन जोडिन् । प्रदेश-१ ले उपाधिका लागि एपीएफ र लुम्बिनी प्रदेशबिचको विजेतासँग खेल्नेछ ।