नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ । महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो । माओवादी केन्द्रका नेता सुदन किँरातीले कटआउट महाधिवेशनस्थलबाट हटाइएको बताए । नेतृत्वलाई थाहै नदिइ निकटस्थले चाकडी गर्नका लागि राखिएको उनले आरोप लगाएका छन् । ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैलाई जानकारी । चाकडी प्रवृत्ति मूर्दावाद !’ किँरातीले सामाजिक सञ्जालमा लेखेका छन् । आइतबार प्रचण्डको कटआउटलाई पृष्ठभूमि बनाएर नेता कर्ताकर्ताले धमाधम सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थियो भने त्यसको आलोचना भएको थियो ।
प्रचण्डमा पनि ओली प्रवृत्ति देखिएको भन्दै कतिपय सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका हुन् । माओवादी केन्द्रको महाधिवेशनअन्तरगत सोमबारदेखि कमलादीमै बन्दसत्र सुरु हुँदैछ ।


