Aamsanchar

मौसममा भारी उतारचढाव

Author Image
बुधवार, पौष १४, २०७८

बुधबार बिहानदेखि देशका विभिन्न भूभागमा परेको झरी कारण जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् ।

उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिटर पानी परेको छ । कास्की आसपासमा १४ मिलिमिटर वर्षा भएको छ । यस्तै लमजुङमा ३९ दशमलव ८ मिलिमिटर पानी परेको छ भने चितवनमा ४० मिलिमिटर वर्षा भएको छ । मनाङमा २७ दशमलव ५ मिलिमिटर र काठमाडौँमा १० दशमलव ७ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिमका जिल्लाहरूमा १० मिलिमिटर हाराहारी वर्षा भएको शाक्यले बताइन् । पूर्वदेखि पश्चिमसम्म पहाडी र उच्च पहाडी क्षेत्रहरूमा वर्षा र हिमपात भइरहेको हो ।

अरब सागरबाट आएको पश्चिमी जलवाष्पयुक्त वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् शाक्यले बताइन् । उनले भनिन्–‘पश्चिमी बायुका कारण देशभर आंशिक देखि सामान्य बदली रही पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।’

मौसम पूर्वानुमान शाखाका अनुसार आज रातिपनि देशभर आंशिक देखी सामान्य बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

वर्षा र हिमपातका कारण तापक्रम दर पनि घटेको छ । काठमाडौँको तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस रहेको छ भने धनगढीमा १२ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जमा १२ दशमलव ६ डिग्री सेल्सियस, भैरहवामा १३ दशमलव ३ डिग्री सेल्सियस, सिमरामा १४ डिग्री सेल्सियस, जनकपुरमा १५ दशमलव २ डिग्री सेल्सियस र विराटनगरमा १३ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर