बिर्तामोड । कोभिड कहरका कारण गत दुई बर्ष देखि आयोजना हुन नसकेको झापा गोल्डकप यस बर्ष आयोजना हुने भएको छ । चौंथो संस्करण सम्म मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताको रुपमा पहिचान बनाएको झापा गोल्डकप आगामी फागुन २१ गते देखि ३० गते सम्म संचालन हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
डोमालाल राजवंशी रंगशालाको खेल मैदानमा आयोजना हुने प्रतियोगिताकोलागि आयोजक झापा ११ फुटबल क्लवसहित स्वदेश भित्रबाट ९ र विदेशी एउटा टिम गरी १० वटा टिमले सहभागिता जनाउने बताईएको छ । कुन कुन टिमले सहभागिता जनाउने छन भन्ने प्रश्नमा प्रि पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्ने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए ।
खेलका लागि चौथो संस्करणमा प्रदान गरिएको पुरस्कार राशीलाई निरन्तरता दिईएको छ । विजेता टिमले १२ लाख ५५ हजार र उपविजेताले नगत ६ लाख पाँच हजार पाउने भएका छन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाईकल, उत्कृष्ट गोलकिप्पर, डिफेनडर, मिडफिल्डरले जनही २१ हजार रुपियाँ प्राप्त गर्ने छन् । उच्च गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले नगत ९ हजार नौ सय ९९ रुपियाँ पाउने आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।
पाचौं संस्करण उद्घाटन समारोहमा विगत झैं यस बर्ष पनि अग्रज दुईजना खेलाडीहरुलाई नगत १५ हजार सहित सम्मान गर्ने र हाल रंगशाला भएको जमिन गुठीलाई दानदिने दाता डोमालाल राजवंशीका परिवारलाई २५ हजार सहयोग प्रदान गर्ने निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रमको संचालन महासचिव गजेन्द्रबहादुर पौडेलले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले गरेका थिए ।
खेल सम्पन्न गर्नको लागि महासचिव पौडेलको नेतृत्वमा ५ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ । उक्त समितिमा पत्रकारहरु केशव भट्टराई, विशाल नेम्वाङ, हिमाल खरेल, भूमिका सुब्बालाई चयन गरिएको छ ।