

कनकाई । नेपालमा प्रजातन्त्र स्थापनाका लागि वी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोगेका झापाली योद्धा तुर्सा हेमरमको २४ औं स्मृति दिवस मनाईएको छ ।
झापाको कनकाई–१ मा रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानको आयोजनामा आज विभिद संथाल साँस्कृतिक कार्यक्रमसहित दिवस मनाईएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको सभाध्यक्षमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि शर्माले ‘तुर्सा हेमरमले देखिएको बाटो र विपी कोईलालाले देखाएको बाटो एउटै थियो । एउटालाई स्वीकार गर्ने अर्कोलाई नगर्ने परिपाटी बन्द हुनुपर्छ, सबैकोे भावना एक बनाएर देशलाई बनाउनु पर्छ । पिछडिएका समुदायलाई माथी उठाउने काम राजनीतिको हो । आफूले पनि सन्थाल समुदायलगायत पछाडी परेका जातीलाई माथी उठाउने भूमिका खेल्ने प्रतिवद्धता जनाए थिए ।


झापाका विभिन्न स्थानबाट आएका संथाल कलाकारहरुले संथाली गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी संथाली युवाहरुबिच दौड, हाईजम्प, छेलो र तिरधनुष प्रतियोगिता गराईएको थियो ।
कार्यक्रममा सन्थाल समूदायको तर्फबाट बडाराम हेमरम, संविधानसभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापा उपसभापित केशवराज पाण्डे, केन्द्रिय सदस्य शुशिला ढकाल, अग्रज नेता पूर्णनन्द शर्मा, पूर्व सासंद डिल्ली सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत टिका मैनाली र संचालन प्रतिष्ठानमा सचिव कुमार पोखरेलले गरेका थिए ।
भारतको हालको झारखण्ड राज्यको दुम्का जिल्लामा जन्मेका तुर्सा हेमरमले वी।पी। कोइरालाको निकटमा रही प्रजातान्त्रिक आन्दोलनमा अगुवा सेनानीको रुपमा काम गरेका थिए । उनी आफ्ना आमाबुबाको साथ लागेर चार/पाँच वर्षको उमेरमा नेपाल आएका थिए । हेमरमलाई प्रसिद्ध समाजवादी चिन्तक सी।के। प्रसाईंले समेत राजनीतिका गुरु मान्ने गरेका थिए । तुर्सा सबैका प्रिय थिए । सीकेसँगको संसर्गमा संकोच नभएको, भेदभाव नगरिएको र समस्यामा आर्थिक, भौतिक र वैचारिक सहयोग पाएको हेमरम बताउने गर्थे । हेमरमले २००६ सालमा वीपीलाई भेटेका थिए । राणाशासन विरोधी सशस्त्र संघर्ष र त्यसपछिका २०१४ सालको भद्र अवज्ञा, २०१५ सालको आम चुनाव र तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र हरण गरेपछि पनि नेपाली कांग्रेसको छातामुनि हेमरम क्रियाशील रहे ।
प्रजातन्त्र अपहरणपछि उनले पञ्चायती शासकहरुको ठूलो यातना सहनु परेको थियो । उनले जतिसुकै दमन, अन्याय र जेलको यातना भए पनि लोकतन्त्रप्रतिको निष्ठालाई कहिल्यै त्यागेनन् । २०४९ साल फागुन ३ गतेदेखि झापाको कलबलगुडीमा शुरु भएको नेपाली कांग्रेस पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले नपढेको आदिवासीको छोरा भएर पनि तुर्साले लोकतन्त्र, नेपाली कांग्रेस र मुलुकको लागि ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । स्व. हेमरम मुलुकको समस्त विकासका लागि निष्ठावान र प्रजातन्त्रका इमान्दार सेनानी थिए । प्रजातन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गर्ने अथक योद्धा थिए । उनी जातीय पहिचानप्रति अत्यन्तै सजग थिए । उनी सादा जीवन उच्च विचारका धनी थिए ।
तुर्सा २०२९ सालमा जेल परेर सात वर्षपछि मात्र रिहाइ भएका थिए । पछि सत्याग्रह आन्दोलनका बेला २०४२ सालमा पनि उनलाई छ महिना झापामा ल्याएर जेल हालिएको थियो । उनका समकालीनहरुले स्मरण गरेका छन्– जेलमा यातना दिँदा उनी भन्थे– ‘म माफी माग्दिन, म जनताको मान्छे हुँ, तिमी सेना, पुलिस र कर्मचारी त जनताका कारिन्दा हौ, तिमीहरु मलाई किन कुट्छौ रु’ प्रजातान्त्रिक आन्दोलनमा उनी आफू मात्र सरिक भएनन्, खेती र किसानीमा मात्र भर पर्ने र शिक्षा, राजनीतिबाट टाढा रहेका सन्थाल जातिलाई पनि संगठनमा आबद्ध गराएका थिए । नेपाली कांग्रेसभन्दा डराउनुपर्ने पञ्चायती व्यवस्थाको कालरात्रीमा सन्थालहरुले प्रजातन्त्रप्रति देखाएको समर्थनका कारण धेरै सन्थालहरु पञ्चायतको दमनको शिकार हुनुप¥यो भने तराई÷मधेशमा औलोसँग लडाइँ गर्दै जमिन आवाद गरेर बसेका उनीहरुको जोताहा खोसियो र जमिनबाट विस्थापित गरियो । शासक र सामन्तको दोहोरो चपेटामा सन्थालहरू परेका थिए । तुर्साले प्रजातन्त्र र जनताका लागि दिन मात्र चाहेका र व्यक्तिगत लाभ लिन कहिल्यै नचाहेको कांग्रेसका पुराना नेताहरु बताउँछन् । हेमरमका शरीरमा यातनाका चोटका दागैदाग रहेका थिए । उनले लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा उभिएर पीडा र यातना भोग्नु परेकोमा कहिल्यै पनि पश्चाताप नगरेको उनलाई चिन्ने कांग्रेसीजनको भनाइ छ ।
वि.सं. १९८० सालमा जन्मेका तुर्सा हेमरमको वि।सं २०५४ साल पुस २० गते निधन भएको थियो । झापाको शरणामतिमा हेमरमको स्थायी बसोबास रहेको थियो । प्रजातन्त्र सेनानी सम्मान समेत प्राप्त गर्नुभएका हेमरम अत्यन्तै सामान्य परिवारमा जन्मिएपनि राजनीतिक चेत, विचार र संगठन गर्ने कार्यमा सबल रहेको उनका समकालीन नेताहरु बताउँछन् ।

