Aamsanchar

दाङमा यो वर्ष धान उत्पादन बढ्यो

Author Image
शनिवार, माघ ८, २०७८

दाङ – दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।

गएको वर्षको तुलनामा यो वर्ष तीन दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । तर बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको लामिछानेले बताउनुभयो ।

धान भित्र्याउने बेला गएको कार्तिक पहिलो हप्ताको वर्षाले धानबालीमा क्षति गरेको थियो । गएको वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन गरिएको थियो । दाङमा ७५ प्रतिशतले हाइब्रिड जातको धान लगाउने गरेको तथ्याङ्क छ ।

धेरै उत्पादन हुने भएकाले किसानले हाइब्रिड धान लगाउने गरेका छन् । हाइब्रिडसँगै लोकतन्त्र, विन्देश्वरी, सावित्री जातका धान पनि किसानको रोजाइमा पर्ने गरेको  कृषि अर्थ विज्ञ लामिछानेले बताउनुभयो ।

यो वर्ष धानबाली लगाउने बेला रासायनिक मलको अभाव नभए पनि हिउँदे बालीका लागि किसानले मलको अभाव भोग्नुपरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)