Aamsanchar

परीक्षाको परिमाणमा धाँधली भएको भन्दै परीक्षार्थीद्वारा रेलमा आगजनी

Author Image
बुधवार, माघ १२, २०७८

पटना : रेलवे रिक्रुटमेन्ट बोर्डसले   लिएको परीक्षाको परिमाणमा धाँधली भएको भन्दै परीक्षार्थीले बुधबार बिहार राज्यको गया जङ्क्सनमा रेलमा आगो लगाएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। विद्यार्थीले प्रहरीमाथि पनि ढुंगा हानेका छन्।

यार्डमा राखिएको रेलको बोगीमा आगो लगाइएको एक प्रहरी अधिकारीले बताए। आगो निभाउन दमकल बोलाउनुपरेको थियो। यसबाहेक रेलमा ढुंगा हानेको खबर पनि आएको छ।

पटना, नवादा, नालन्दा, बक्सर, आराह लगायतका धेरै क्षेत्रमा पनि विद्यार्थी रेल ट्र्याकमा ओर्लिएर नाराबाजी गरेका थिए। विद्यार्थीहरूले परीक्षाको नतिजामा गडबडी भएको आरोप लगाएका छन्। मंगलबार पनि विद्यार्थीले धेरै ठाउँमा रेल रोकेका थिए।

रेल मन्त्रालयले रेलवेका दुवै परीक्षा तत्कालका लागि स्थगित गरेको छ। रेल मन्त्रालयले परीक्षामा उत्तीर्ण र अनुत्तीर्ण विद्यार्थीको सुनुवाइ गर्न समिति गठन गरेको छ।

समितिले आफ्नो प्रतिवेदन रेल मन्त्रालयलाई बुझाउनेछ। त्यसपछि रेल मन्त्रालयले थप निर्णय गर्नेछ। विद्यार्थीको आन्दोलनलाई ध्यानमा राख्दै अहिले रेल मन्त्रालयले रेलवेको परीक्षामा रोक लगाएको छ।

रेलमन्त्री अश्विनी वैष्णवले भने, ‘सर्ट लिस्टमा परेका पीडित नहोऊन्, जसको गुनासो छ‚ उनीहरूलाई पनि सम्बोधन गरिनुपर्छ।’

परीक्षार्थीलाई आफ्ना माग औपचारिक रूपमा पेश गर्न आग्रह गरिएको छ।

मन्त्री वैष्णवले भने, ‘म मेरा परीक्षार्थी मित्रहरूसँग अनुरोध गर्न चाहन्छु कि रेलवे तपाईंको सम्पत्ति हो, तपाईंले आफ्नो सम्पत्तिको ख्याल गर्नुहोस्। हामी तपाईंका सबै गुनासो सुन्छौँ। कुनै पनि परीक्षार्थीले कानुन आफ्नो हातमा लिनु हुँदैन।’

रेलवेद्वारा एक समिति गठन गरिएको रेलवे प्रवक्ताले बुधबार जानकारी दिए। यसले विभिन्न रेलवे भर्ती बोर्डहरूद्वारा आयोजित परीक्षाहरूमा सफल र असफल उम्मेदवारको गुनासो सुन्ने छ र दुबै पक्षको गुनासोको जाँच गर्नेछ।

समितिलाई प्रतिवेदन बुझाउन ३ साताको समय दिइएको छ। छानबिनपछि समितिले मार्च ४ गतेसम्म सिफारिस बुझाउने छ।

वास्तवमा रेलवे भर्ती बोर्डको गैरप्राविधिक श्रेणीको परीक्षा २०२१ को नतिजा १४-१५ जनवरीमा जारी गरिएको थियो।

यी परीक्षामा १ करोड ४० लाख परीक्षार्थीले जाँच दिएका थिए। परिणाम आएपछि विद्यार्थीमा असन्तुष्टिको विषय उठेको छ।

यसको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। बिहार लगायत विभिन्न ठाउँमा परीक्षार्थीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर