Aamsanchar

मोरङ : उखुबारीमा शंकास्पद २ वटा खाल्डामध्ये एउटामा शव फेला,अर्को उत्खनन गरिँदै

Author Image
बिहिवार, माघ १३, २०७८

प्रतिकात्मक तस्बिर

विराटनगर –मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दै छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर केही पुरेको जस्तो शंकास्पद अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । साेही दिन बेलुका उत्खनन् गरेको प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको हो ।लगाएको कपडासहित गाडिएको अवस्थामा फेला परेका पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको पहिचान गर्ने प्रयास पनि गरिरहेको छ ।करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

शव उत्खनन गरेको स्थान नजिकै शंकास्पद अर्काे खाल्डो पनि फेला परेको छ । शव गाडेको आशंकामा प्रहरीले सो खाल्डो पनि उत्खनन गर्ने तयारी गरेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बुधबार उत्खनन गरिएको खाल्डो भन्दा करिब २० मिटर टाढा उखुबारी भित्रै खाल्डो भेटिएको हो ।

प्रहरीले सो खाल्डो उत्खनन गर्ने तयारी गरिरहेको धनपालथान गाउँपालिका–७ का वडा अध्यक्ष  हरिप्रसाद यादवले बताए । उनका अनुसार त्यो खाल्डोमा पनि शव हुनसक्ने आशंकामा उत्खनन गर्न लागिएको हो ।

खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ । ‘बुधबार शव निकालिएको खाल्डो नजिकै खाल्डो खनेर पुरेको जस्तो माटो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढिलो सूचना आएका कारण हिजो एउटा मात्रै उत्खनन गरियो, आज अर्काे उत्खनन गर्ने तयारी छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 607

प्रतिक्रिया (०)

सम्बन्धित खबर