परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । विभागले ई–पासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरुले बन्द गरेका थिए ।
‘अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट ई–पासपोर्ट जारी गर्ने हाम्रो योजना छ,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘ई–पासपोर्ट जारी गर्न आवश्यक पर्ने सामाग्री नियोगहरुमा पठाउन थालेका छौं ।’
एमआरपी बन्द गरी विभागले गत मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो । सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको थियो । यसअघि विभागले ७७ जिल्ला र विदेशस्थित सबै नेपाली नियोगबाट एमआरपी जारी गर्दै आएको थियो । ई–पासपोर्ट जारी भएपछि नियोगबाट नयाँ पासपोर्ट जारी नहुँदा विदेशमा रहेका हजारौं नेपाली अप्ठेरोमा परेका थिए ।