

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन्।

उनले सत्तारुढ गठबन्धनलाई बत्ति निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए। आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाइ थियो।
उनले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरुको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गरे। आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा असाधारण काम गरेको दाबीसमेत ओलीले गरे।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लडने पनि स्पस्ट पारे।
उनले भने, ‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं, के गर्छन होला विचराहरू ? म भनिदिन चाहन्छु–भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं। यो गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर बहुमत प्राप्त गर्छाैं भन्नेकुरा म अहिले नै भन्दिन चाहन्छु।’

