Aamsanchar

कमल थापा राप्रपा नेपालको अध्यक्षमा नियुक्त

Author Image
आइतवार, फागुन १, २०७८

फायल फोटो : आमसंचार

मंगलबार राप्रपा परित्याग गरेका कमल थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको पार्टीका संस्थापक अध्यक्ष लाक्पा तामाङले बताएका छन् ।

नेतृत्व कमल थापालाई छाडेका तामाङ हाल केन्द्रीय सदस्यमा सीमित भएका छन् भने पछि अध्यक्षले उचित जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको तामाङले बताए । ‘मेरो भूमिका अब अध्यक्षज्यूले जे निर्धारण गर्नुहुन्छ त्यही हुनेछ, सबै अध्यक्षज्यूको हातमा गएको छ’, तामाङले भने ।

पार्टीको चुनाव चिन्हको विषयमा पछि टुङ्गो लाग्ने बताइएको छ । छिट्टै नवगठित पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट चुनाव चिन्हको टुङ्गो लगाइने बताइएको छ । तामाङको नेतृत्वमा राप्रपा नेपाल हुँदा साँढे चुनाव चिन्ह रहेको थियो । उनले नयाँ नेतृत्वसहितको पार्टी घोषणा फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रिय सभागृहबाट घोषणा गर्ने तय भएको छ ।

आयोगमा बुझाइएको सूचीमा केन्द्रीय समितिमा थापा पक्षबाट राजीव पराजुली, उद्धव पौडेल, तेज कुरुङ्बाङ, सुनिता कुरुङबाङ तथा आफ्नो तर्फबाट आफूसहित आइतराम तामाङ, तेजबहादुर भुजेल, राजेश्वर श्रेष्ठलगायत रहेका छन् । हाल राप्रपामा रहेका केन्द्रीय सदस्य तथा पदाधिकारी नयाँ पार्टीको केन्द्रीय कमिटी सूचीमा छैनन् । यसैबीच निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राप्रपा नेपालको निवेदन प्राप्त भएको र यसबारे आयोगले निर्णय लिन बाँकी रहेको बताए ।

Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर