Aamsanchar

विर्तामोड खानेपानी पुनः देशकै उत्कृष्ट

Author Image
सोमवार, फागुन २, २०७८

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दोस्रो पटक पुन देशकै उत्कृष्ट बनेको छ ।

अघिल्लो पटक सन् २०१८ मा पनि देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष पनि उत्कृष्ट बनेको हो ।

आज नगर विकास कोषले उत्कृष्टताको प्रमाण पत्र र पुरस्कार  बिर्तामोड खानेपानीलाई प्रदान गरेको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट सेवाग्राही घोषित गर्दै प्रमाण पत्र सहित पुरस्कृत गरेको हो ।

फागुन २ गते काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थाका संस्थापक अध्यक्ष टुरुप प्रसाईं, वर्तमान अध्यक्ष जलकुमार गुरुङ र सचिव मेघराज बास्तोला मार्फत उत्कृष्ठाको प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको छ ।

संस्थाले खानेपानी वितरण ,पानीको गुणस्तरीयता, महशुल,लिकेज लगायतको अध्ययन पछि दश जनाको विज्ञ टोलीले गरेको मूल्यांकनका आधारमा संस्था उत्कृष्ट बन्न सफल भएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए ।

संस्थाले नगर विकास कोषबाट खानेपानी आयोजना संचालन, मर्मत संभारका लागि लिएको ऋणको भुक्तानी, आयोजना निश्चित समयमै सम्पन्न ,उपभोक्ताहरुलाई दिएको सुविधाजस्ता मापदण्डमा संस्था अगाडि रहेको र त्यसैको प्रतिफल स्वरुप उत्कृष्ट घोषित भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले आमसंचारलाई बताए।

संस्थापक अध्यक्ष टोरुप प्रसाईले नेतृत्व सम्हालेदेखि नै संस्था अब्बल रहँदै आएको बिर्तामोड खानेपानी संस्था पछिल्लो समय जलकुमार गुरुङले नेतृत्व गर्दै संस्था कुशल व्यवस्थापनका कारण देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 693

प्रतिक्रिया (०)