Aamsanchar

नक्कली बाबु र छोरा बनी नागरिकता बनाउन खोज्ने २ जना पक्राउ

Author Image
बुधवार, फागुन ४, २०७८

काभ्रे -प्रहरीले नक्कली बाबु र छोरा बनी नागरिकता बनाउन खोज्ने दुईजनालाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिका–८ (साविक खार्पाचोक गाविस–३) बस्ने ६४ वर्षीय नानी तामाङ र धर्मराज तामाङ पक्राउ गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार धर्मराज तामाङ जिल्ला प्रशासन कार्यालय काभ्रेमा नानी तामाङ र जमुना तामाङको छोरा भएको झूटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिन खोज्ने व्यक्ति हुन्।

उनले रोशी–८ को वडा कार्यालयबाट नानी र जमुनाको छोरा भएको जन्मदर्ता प्रमाणपत्र समेत बनाई आवश्यक कागजातसहित वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाऊँ भनी नागरिकताको अनुसूची फारम जिप्रका काभ्रेमा पेश गरेका थिए।

शंकास्पद लागी वंशजको आधारमा नागरिकता लिन खोज्ने व्यक्ति (धर्मराज) र छोरा भनी सनाखत गर्ने बाबु (नानी)सँग आवश्यक सोधपुछ गर्दा निजहरूले दिएको जवाफ र वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लिखित व्यहोरा फरक भेटिएसँगै उनीहरू बाबुछोरा नभएको पुष्टि भएको थियो।

त्यसपछि उनीहरूलाई झूटो विवरण पेश गरी सरकारी कार्यालय समेतलाई झुक्याई नक्कली बाबुछोरा बनी नागरिकता लिन खोजेको अभियोगमा जिप्रका काभ्रेको कार्यालय परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

डिएपी खतिवडाले छोरा नभए पनि नागरिकता बनाउन नक्कली बुवा बनी सनाखत गरिदिएको अभियोगमा नानी तामाङलाई पनि पक्राउ गरेको जानकारी दिए।

दुवैजनालाई नेपाली नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम हुने कार्य गरी नेपाली नागरिकता लिने उद्योग गरेको कसुरमा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर