

रूस र युक्रेनबीचको युद्ध चर्किएका वेला सोमबार यी दुई देशबीच पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो। रूसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिए पनि कुनै निष्कर्ष भने आएन। युक्रेनका अधिकारीहरूले यो वार्ताले कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका थिए।

वार्तामा सहभागी दुवै पक्ष आ-आफ्नो राजधानी फर्किएका छन्। उनीहरूले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्।
रूस पछिल्लो चरणमा वार्ता गर्न सहमत भएको थियो। सोहीबमोजिम दुवै पक्ष वार्तामा बसेका थिए। रूस र युक्रेनले आगामी केही दिनभित्रै अर्को उच्चस्तरीय वार्ता गर्ने बताएका छन्।

उता रूसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रूसले युक्रेनका आवासीय क्षेत्रमै गोलाबारी गरिरहेको युक्रेनको दाबी छ। यसरी आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्ने कुराको भने रूसले अस्वीकार गरेको छ।
यता राजधानी किभमा भने खतराको जनाउ दिने साइरन बजेका बताइएको छ। त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको छ। जसका कारण रूसी सेना अगाडि बढ्ने गति कम भएको छ।

