

काठमाण्डौं । फागुन १६ गते काठमाण्डौं नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा जनमानसलाई त्रसित बनाउने उद्देश्यले शंकास्पद वस्तु (प्रेसर कुकर बम) राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे भुम्लो गाउँपालिका सिमथली घर भई हाल काठमाडौं चावहिल बस्तै आएका २१ बर्षे सुवास महत रहेका छन् । उनलाई हिजो काठमाडौको गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोईलालले बताए ।
घटना लगत्तै महाशाखाको बिशेष अनुसन्धान टोलिले (प्रेसर कुकर बम) राख्नेको खोजी कार्य सुरु गरेको थियो ।

पक्राउ पर्ने महत अनेरास्वव्यु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष पनि रहेको प्रहरीजे जनाएको छ ।
उक्त घटनामा प्रयोग गरेको मोटरसाईकलसहित पक्राउ परेका महतको साथबाट उक्त दिन लगाएको कालो निलो रंगको फुल हेल्मेट १ थान, दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट, पार्टीको नामको रसिद, छाप र विभिन्न कम्पनीका ४ थान मोवाईल प्रहरीले बरामत गरेको छ ।

