Aamsanchar

चैत १२ गतेदेखि दाङ क्रिकेट लिग हुने

Author Image
शनिवार, फागुन २१, २०७८

दाङ – दाङमा क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग २०७८’ हुने भएको छ। दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि १८ गतेसम्म ५ वटा फ्रेन्चाइज क्लबमार्फत खेलाडी खरिद गरेर घोराहीमा प्रतियोगिता हुने संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए।

प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरूले प्रतिष्पर्धा गर्नेसमेत उनको भनाइ छ। घोराही उपमहानगरपालिका-१७ स्थित गुलरिया क्रिकेट मैदानमा गर्न लागिएको प्रतियोगिता जिल्लाकै पहिलो ठूलो राशिको खेलाडी किनबेचमा आधारित प्रतियोगिता भएको उनले जानकारी दिए।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने संघका सल्लाहकार कैलाश रोकामगरले बताए।

दाङ क्रिकेट लिगका लागि ५ वटा टिमले १४ जना खेलाडी खरिद गर्ने हुँदा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका २ जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको संघले जनाएको छ।

त्यस्तै लुम्बिनी प्रदेशका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी २ जना र नेपालभरिका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम रहनेछ। जसमा १३ जना अक्सनबाट आउनेछन् भने एक जना मार्की खेलाडीका रुपमा टिमले आफैँ खुला रुपमा भित्र्याउन पाउनेछ।

उक्त खेलाडी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा नाम चलिसकेका खेलाडीहरूले समेत नाम दर्ता गराएका छन्।

प्रतियोगिताका लागि अक्सनमा न्यूनतम ४ हजारदेखि अधिकतम १ लाख ४ हजार रूपैयाँसम्म टिमले खर्च गरेर खेलाडी अनुबन्ध गर्ने नियम रहेको छ। प्रतियोगितामा जिल्लाको पहिचान झल्कने गरी टिमको नाम राखिएको आयोजकले जानकारी गराएको छ। लिगका लागि करिब २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख र उप-विजेताले १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरी प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट म्यान अफ द सिरिज खेलाडीलाई नगद १५ हजार, म्यान अफ द म्याचलाई नगद १५ हजार, सबैभन्दा धेरै रन र विकेट लिने खेलाडीलाई १०/१० हजार र इर्मजिङ प्लेयरलाई नगद ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर