Aamsanchar

जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ

Author Image
आइतवार, फागुन २९, २०७८

संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको हो । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका९४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएपी लालध्वज सुवेदीले बताए । पक्राउ परेका वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षीया छोरी विममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ । तर, विममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी दिएन । प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजतसहित नागरिकताको प्रतिलिपि, घरबाटो सिफरिस तथा जग्गा नामसारी गर्ने सिफारिस समेत वडा अध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए ।

Views: 580

प्रतिक्रिया (०)

सम्बन्धित खबर