म पनि लेख्नु र ? भनेँ मैले ।
महानन्द पोखरेलको स्मृतिमा लेख्नुपर्ने ।
लेख्न त मन चाहिन्छ । बा“चेको मान्छेले मात्रै लेख्न सक्छ । बाँचेको मान्छेसँग मन हुन्छ । मरेको मान्छेको मन हुँदैन । म बाँचेको छु र ? म त मरिसकेँ । मरेपछि मानिस माटो हुन्छ । ढुङ्गा हुन्छ । ढुङ्गाको मन हुँदैन । मान्छे हुन मन चाहिन्छ । म त मन नभएको मान्छे । ढुङ्गाजस्तै । म नै ढुङ्गो । मनै ढुङ्गो । अर्थात् ढुङ्गो जस्तै मन । ढुङ्गोजस्तै म । मजस्तै ढुङ्गो ।
ढुङ्गाले मान्छेलाई बाँच्ने आधार दिन्छ । ढुङ्गाकै घर । ढुङ्गाकै भर । म ढुङ्गाजस्तै छु । मलाई प्रयोग गरेर घर बनाउनू । ढुक्क । कुलो, पैनी, बाटो बनाउनू । पुल बनाउनू । सबैतिर ढुङ्गो । ढुङ्गैढुङ्गा जोडेर देश बनाउनू । गाउँ, सहर र बस्तीहरू बनाउनू । भइहाल्छ नि ।
ढुङ्गाभित्र मन हाल्न पाए कति राम्रो हुन्थ्यो । ढुङ्गाले सबै गथ्र्यो । एउटा ढुङ्गाले अर्को ढुङ्गाको खुट्टो तान्दैन । अर्को ढुङ्गाले अर्को ढुङ्गाको कुरा काट्दैन । ढुङ्गालाई आफ्ना छोराछोरी प्यारो र अर्काको बिरानो हुँदैन । ढुङ्गालाई पैसा पनि चाहि“दैन । ढुङ्गो वडाध्यक्षमा पनि उठ्दैन । मन्त्री बन्दैन । ठेक्कापट्ठा केही गर्दैन बिचारा ढुङ्गाले ।
मन नभएका मान्छे सबै ढुङ्गा । मन भएका मान्छे सबै मान्छे । महानन्द हजुरबा मन भएका मान्छे । साँच्चैका मान्छे । हामीजस्तो ‘मान्छेजस्ता मान्छे’ होइन । त्यसैले उनी बा“चेका छन् । मन भएका मान्छे सधैँ बाँच्छन् । मन नभएका मान्छे बाँच्दा पनि मर्छन् ।
मरेका मान्छे बस्ने ठाउँ पनि मरेकै हुन्छ । बाँचेका मान्छे बस्ने ठाउँ बाँचेको हुन्छ । शान्तिनगर मरेको ठाँउ। महानन्द हजुरबाले मृतसञ्जीवनी दिएर बचाए । सानो कुरो हो र ! हामीले थाहा पाउँदा पनि शान्तिनगर मरुभूमि थियो । रुखका टोड्का र खाल्डामा जमेको पानी भेट्दा अमृत हुन्थ्यो । नुहाउनु त परको कुरा । मरेको मान्छेलाई के नुहाउनु । त्यस्तो अवस्थामा ३–४ किलोमिटर टाढा बाँसको धारो जोडेर मरेकालाई पानी खुवाउने बुद्धि महानन्द हजुरबालाई कहा“बाट आयो ? हो, त्यो मन हो । अचम्मै गर्नुभएछ । बाँसका खम्बा गाडेर, बाँसकै भाटा जोड्दै जोड्दै माथि इलामको सिमानानिरबाट बस्तीसम्म पानी ल्याउनुभएछ ।
मिलको त कुरै छाडौं । एक पाथी धानको बोक्रा उक्काएर चामल तुल्याउन रातभरि तिघ्रा बजार्नुपथ्र्यो । हाम्रा आमा बा जिउँदै हुनुहुन्छ । दिनभरि मेलापात । रातभरि ढिकीजाँतो। अनि त्यति गरेको केलाई ? खानलाई । थुक्क जिन्दगी ! यो पाराले भएन । हजुरबाको मनले सोच्यो — यी दुखियाहरूलाई सजिलैसित धान, मकै, गहुँ, कोदो पेल्ने मिसिन बनाइ दिनुप¥यो । उहाँले टिमाई खोलाको किनारमा पानी मिल बनाउनुभयो । पानीघट्ट । प….र बाट कुलो बनाएर ल्याएको मिल मास्तिरबाट ह्वार्रै तल खसाएको । मिलको तलबाट हेर्दा भित्रपट्टि पङ्खाजस्तो मिसिनमा पानी ठोकिएर फनन घुम्ने । रातभरिमा हुने काम आधा घन्टामै हुने भो । हजुरबाको मन थियो र पो सबैले धान पेल्न पाए ।
धान त भए पो पेल्नु । गहिरोमा टिमाइ खोला । सम्म परेकै भए पनि प्याङ्खर । बुकीफुल नउम्रिने । कोदे भन्थे अरे अरूले । हुन पनि मरेकालाई कोदे त के जे भने पनि हुन्थ्यो । हजुरबाकै बुद्धिले त्यति गहिरो खोलाको पानी डाँडामाथी उक्लियो । कुलो आयो गाउँमा — ‘मानन्द’ पैनी । धान रोपियो । फल्यो । मकै पनि फल्यो । गहुँ पनि । अनि मिलमा पिसाउन मिल्ने भयो । अहिले कोदे भनुन् त ! शान्तिनगर जत्तिको बसोबास योग्य ठाउँ नेपालमै छैन । हजुरबा जन्मिएका थिए । उनीसँगै उनको मन पनि जन्मेछ । धन्य । भनेपछि प्रकृतिले सबैथोक दिन्छ । त्यसलाई प्रयोग गर्न मान्छेको बुद्धि पलाउनु आवश्यक छ । बुद्धिचाहीँ मन भएको मान्छेसित मात्रै हुन्छ । अनि त्यही मनका धनी महानन्द हजुरबा । महानन्द पोखरेल । एउटा सिङ्गो राष्ट्रले पाउनुपर्ने मान्छे शान्तिनगरले पायो ।
एउटा ठाउँमा एउटा बाँचेको मान्छे भए पुगिहाल्ने रहेछ । हाम्रो गाउँमा महानन्द हजुरबा बाँचेका थिए । अहिले पनि छन् । बाँचेको मान्छेसित मन हुन्छ । त्यही मनले अरूलाई सास फेराउँदो रहेछ । ‘दोकाने बा’ रे । महानन्द हजुरबालाई दोकाने बा भन्थे । किन ? सबैलाई थाहा छ । उनी आफ्ना लागि होइन, अरूका लागि दोकान गर्थे । व्यापार गर्थे । भारतको नक्साल बजार दुइटा घोडा लिएर जान्थे । दसैँका बेलामा दुइटा घोडामा कुस्त लुगा लिएर आउँथे। गाउँलेले दसैँमा नयाँ लुगा फेर्न पाउँथे । सक्नेले तिर्थे नसक्नेले अर्को साल पनि पाउँथ्यो । खाने अन्न नपाएर कहिलेकाहीँ गाउँलेहरू प्याकप्याक पर्थे । उनले कहाँबाट थाहा पाउँथे कुन्नि, घोडामा चामल लादेर ल्याई आँगनमा पछारिदिन्थे । उनी भन्थे — कमाएर तिर्नू ।
हजुरबाको मनकै कारण अलिअलि मान्छे बाँच्न थाले । अलि बुद्धि घुस्यो । हजुरबाले बनाएको कुलाले हरियो बनाएपछि बोटबिरुवासँगै मान्छेको मन पनि उम्रिन थाल्यो । गाउँ हरियो भयो । उर्वर बन्यो । अन्नबाली फल्यो । बजार चाहियो । खोला तर्ने बुद्धि छैन । फेरि हजुरबाको मनले झोलुङ्गे पुल बनायो । भइगयो त । अब टिमाईसँग पौंठेजोरी खेल्ने दिन पनि सकिए ।
भनेँ नि, मन भएको एउटा मात्रै मान्छे भए पुगिहाल्छ । एक जना मन भएका बुद्धले गर्दा आज संसारलाई पुगेको छ । हो, शान्तिनगरले मन भएको महानन्दलाई जन्मायो । धन्य छ शान्तिनगर ।
यी छन् कुरा । महानन्द हजुरबा मन भएका मान्छे । मन भएका मान्छेलाई मन भएकैले पो चिन्छन् त । उनी मरे अरे । कसले भनेको ? शान्तिनगर मरेको छ र ? मरेको छैन भने हजुरबा पनि मरेका छैनन् । जिउँदो इतिहास हुन् उनी । उनको कर्मका रूपमा उनी बाँचेका छन् । अनि मैले किन लेख्नु । उनको सुकार्य नै उनी हुन् । बस् । म मन नभएको मान्छे । मन नभएको मान्छेले मन भएको मान्छेको बारेमा लेख्नु हुन्छ र ? र पो मैले भनेको — म पनि लेख्नु र ? तैपनि यी ४ वटा अनुष्टुप् छन्दका श्लोकचाहिँ हजुरबालाई समर्पण गरेँ :
मनको धन हो ठूलो मनै हो मठ–मन्दिर ।
गरी मानवको काम बढ्यौ अघि निरन्तर ।। १ ।।
थियो जमिन त्यो बाँझो सुख्खा माटो र जर्जर ।
उदायौ सिर्जना बोकी बनायौ अनि उर्बर ।। २ ।।
हाहाकार थियो पानी, खोजीमै बित्तथ्यो दिन ।
तिमीले प्यास मेटायौ तृप्त भो सबको मन ।। ३ ।।
यस्तै कर्म सदा गर्ने महानन्द महामना ।
सधै“ बा“चिरहू हामीमाझ गर्छु म वन्दना ।। ४ ।।
(प्राचार्य, कर्णाली एजुकेसन फाउन्डेसन, बुद्धशान्ति १, झापा)