Aamsanchar

सिंह हौं तर भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो : प्रचण्ड

Author Image
शनिवार, चैत ५, २०७८

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु बिग्रँदै गएको  स्वीकार गरेका छन्।  सिन्धुलीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै प्रचण्डले अब चुनावमा आत्मसमीक्षा गरी माफी मागेर जनतामाझ जानुपर्ने बताए। यसअघि कमजोरी भयो, अब त्यसो गर्दैनौं भनेर जनताका घरघरमा जान कार्यकर्तालाई निर्देशन पनि दिए। जनतासँग माफी माग्न अफ्ठेरो नमान्न पनि उनले आग्रह गरे।

‘यो औपचारिक निर्वाचन मात्रै होइन, जनआन्दोलनका उपलब्धीका रक्षा गर्ने वा मर्न दिने भन्ने लडाइँ हो। हामी पहिला लडाइँमा जाँदा घाइते भइन्छ भनेर आफैं स्ट्रेचर बोकेर, पक्कै मरिन्छ भनेर कोदालो बोकेर गइन्थ्यो खाल्डो खनेर पुर्नका लागि।’ उनले भने,  ‘तर यता आइसकेपछि थाहै नपाइकन भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो । हामी अलिकति बिग्रिएका छौं, सिंह हौं तर भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थालियो, अब फेरि एकपटक सिंह भएर गर्जनुपर्छ।’

जसले यो परिवर्तन ल्याएको हो त्यसले चाहिँ हार्नुपर्ने र जो विरोधी हो उसले जित्ने चुनाव लोकतान्त्रिक नहुने उनको भनाई छ।  उनले  गुण्डागर्दी, धाँधली र षड्यन्त्र गरेर चुनाव जित्नेहरूलाई परास्त गर्न डटेर लाग्न युवालाई आग्रह गरे।

‘२०६४ को चुनाव हामीले वाइसिएल आयो भनेपछि सातो जाने बनाएर जित्या हो, जनताले वाइसिएल आयो भनेपछि आफ्नै छोराछोरी आयो भन्ठान्थे, जाली फटाहहरु भाग्थे, अनि जनताले ढुक्कसँग माओवादीलाई भोट हालेका थिए’, प्रचण्डले भने ‘अहिले त वाइसिएल पनि अलिअलि मुर्झायो कि भनेजस्तो देखेपछि जनता सुरक्षित हुन्नौं कि भन्ठान्छन्।  गुण्डागर्दी अरुले गर्न थाले। त्यसलाई ठीक पार्न आजैदेखि तयारी गर्नुस्। लड्नका लागि के सहयोग चाहिन्छ हेडक्वाटर तयार छ । तर हामीले जित्नै पर्छ।’

आफूहरुले चुनाव हारे संविधान, गणतन्त्र, जनयुद्ध र शान्ति प्रक्रिया हार्ने भन्दै कुनै हालतमा जित्नै पर्ने बताए। अब बाँकी दुई महिना रातदिन खट्ने हो भने कायापलट गर्न सकिने भन्दै त्यसैअनुसार लाग्न उनले पार्टी पङ्क्तिलाई निर्देशन दिए। उनले गठबन्धनको भर नपर्न पनि आग्रह गरे।

‘गठबन्धन जोगाइनेछ तर पहिला हामी आफैं बलियो हुनुपर्छ त्यसपछि मात्रै गठबन्धन हेर्ने हो’, उनले भने, हामी बलियो भएनौँ भने गठबन्धन पनि अन्ततिर लाग्न बेर मान्दैन।’

अहिलेको व्यवस्था र संविधान उल्टाउने खतरा टरिनसकेको भन्दै प्रचण्डले रिल्याक्स गरेर बस्ने बेला नभएको बताए।

‘पहिलो पटक संसद विघटन उल्टाएपछि अब जितियो भनेर रिल्याक्स गर्न लागियो, फेरि विघटन भयो’, प्रचण्डले भने, त्यसैले अझै प्रतिगमन र प्रतिक्रान्तिको खतरा टरेको छैन।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘बयलगाडा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु उस्तै हो भन्नेहरु अझै ज्यूँदै छन्। अहिले पनि गणतन्त्र विरोधी छन्। संविधान र गणतन्त्र उल्ट्याउन चाहन्छन्।’

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर