Aamsanchar

नेपाल आइडल सिजन-४ को फाइनल आज

Author Image
शनिवार, चैत ५, २०७८

काठमाडौं: नेपाल आइडल सिजन-४ को फाइनल आज हुँदैछ। बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो परिसरमा भव्य रूपमा फिनालेको आयोजना हुँदैछ। साढे ५ बजे सुरु हुने फिनाले एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ।

फाइनलमा झापाका विश्वास उप्रेती, भैरहवाका भूपेन्द थापा मगर, मोरङकी  लक्ष्मी पौडेल, झापाका नाम्गेल तामाङ र रामेछापका रञ्जित नेपालीबीच प्रतिस्पर्धा हुँदै छ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले देशका कुनाकन्दरामा लुकेका प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्न आइडल सुरुवात गरिएको बताए। ‘अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज रियालिटी सो नेपाली टेलिभिजनमा ल्याउनु अवसरसँगै चुनौतीपूर्ण थियो। आज नेपाली संगीतमा देखिने पछिल्लो पुस्ता करिबकरिब ८० प्रतिशतभन्दा बढी नेपाल आइडलकै उत्पादन छन्,’ उनले भने।

यसो भनिरहँदा एक अभिभावकको रूपमा राम्रै गरिएछ कि जस्तो लागेको उनले बताए। ‘देश र जनताको सेवामा अन्नपूर्ण मिडिया नेटवर्क अग्रपंक्तिमा रहेर काम गर्छ। आइडल नेपाली संगीतको ब्रान्ड हो भन्न पाउँदा गर्व महसुस हुन्छ,’ उनले भने।

गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रशारण थालिएको नेपाल आइडलले उत्कृष्ट पाँचमध्येबाट कसलाई विजेता पाउनेछ भन्ने चासो सर्वत्र छ। नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार  विजेताले २७ लाख ५० हजार, फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

नेपालमा पहिलो पटक फ्रेन्चाइज गायन रियालिटी शोको सुरुवात गरी सिजन-४ सम्म सफल बनाउन पाउँदा सम्पूर्ण टिम नै निकै खुसी भएको पौडेलले जानकारी दिए।

उनले निर्देशकीय भूमिकामा रहेर नेपाल आइडललाई नेतृत्व गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे। आइडललाई जिम्मा लिनु अवसरसँगै चुनौती पनि बराबरी नै महसुस गर्दै सिजन-४ सम्म आउन सफल भएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 595

प्रतिक्रिया (०)

सम्बन्धित खबर