Aamsanchar

गलत हल्ला चलाएर चरित्र हत्या गर्न खोजियो : नगरप्रमुख पोखरेल

Author Image
आइतवार, चैत ६, २०७८

बिर्तामोड । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गलत हल्ला चलाएर चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

आज (आइतबार) नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत नगरप्रमुख पोखरेलले आपत्ति प्रकट गरेका हुन् ।

दक्षिण कोरियामा मौसमी कृषि प्रशिक्षार्थी पठाएको बिषयलाई लिएर चरित्र हत्या गर्न खोजिएको भन्दै पोखरेलले प्रमाण विना हिलो छ्याप्नु आलोचना गर्नु गम्भिर अपराध हुने भन्दै यथार्थ धरातल बुझेर मात्र समाचार बनाउन आग्रह गरे ।

स्थानीय तहको निर्वाचनको मिति तय भइसकेको अवस्थामा कुप्रचार गरेर प्रतिष्ठामा धुलो र हिलो छ्याप्ने दुस्प्रयास भएको भन्दै नगरप्रमुख पोखरेलले दुःख व्यक्त गरेका हुन । ‘२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने तय भएको परिवेशमा त्यहि चुनावप्रति लक्षित गरि तिललाई पहाड बनाएर प्रतिष्ठामा धुलो र हिलो छ्याप्ने काम भएको छ,’ उनले भने,‘आजको युगको सचेत र आलोचनात्मक चेतसहितका सञ्चार माध्यमको दुरुपयोग गर्ने कसैकोपनि अभिलाषा पूरा नहुनेमा ढुक्क छु ।’ निर्वाचन नजिकिएसँगै अपराजित उम्मेदवारको रुपमा रहेको आफूलाई हतोत्साहित गर्ने मनसायबाट हल्ला चलाइएको उनको भनाई छ ।

कनकाई नगरपालिकाले कृषकहरुको ज्ञान र सीप विकासका लागि दक्षिण कोरियाको गोहेङ्गुन पालिकासँग सम्बन्ध कायम गरी मौसमी कृषि प्रशिक्षार्थीको रुपमा पठाउने निर्णय गरेको नगर प्रमख पोखरेलले बताए । दक्षिण कोरियामा प्राप्त ज्ञान र सीपको अधिकतम् उपयोग नेपालमा गरी कृषकहरुको आय आर्जन बढाउने उद्धेश्यले पहिलो चरणमा कनकाईका १३ जना कृषकहरु छनौट भएका थिए । कनकाईबाट छनौट भएका १३ जना र फक्ताङ्लुङ् ताप्लेजुङका ३ जना गत मंसिर २९ गते दक्षिण कोरिया गएको पोखरेलले जानकारी दिए । कनकाईबाट गएका मध्ये कनकाई ८ का दिनेश न्यौपाने दक्षिण कोरियामा दुईपटक गरिएको स्वास्थ्य परिक्षणमा अयोग्य ठहर भएर कानूनी कारबाही भोग्नु पर्ने परिस्थिती सिर्जना भएपछि न्यौपानेको परिवार, दक्षिण कोरियामा रहेका नेपालीहरु र कनकाई नगरपालिकाको सहयोगमा न्यौपानेलाई स्वदेश फिर्ता ल्याइएको पोखरेलले बताए ।

तर, न्यौपाने स्वदेश फिर्ता आएपछि भ्रम सिर्जना हुने खालका सूचना दिएको भन्दै नगरप्रमुख पोखरेलले दुःख व्यक्त गरे । नगरमा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशिल साझा पार्टी, जनता समाजवादी पार्टीबिच भएको सहमति अनुसार नगरपालिकाले दक्षिण कोरिया जान लाग्ने टिकट, क्वारेण्टाइन, विमा लगायतका सम्पूर्ण खर्च कृषकले व्यहोर्ने र भिषा प्रक्रियाका लागि मात्र नगरपालिकाले सहजीकरण गर्ने निर्णय अनुसार नै कृषकलाई पठाइएको अवस्थामा न्यौपानेले ३ लाख ८० हजार रुपैँया तिरेको र ३ लाख नगरपालिकाले हिनामिना भएको भन्दै लगाएको आरोपमा कुनै सत्यता नरहेको पोखरेलले प्रष्ट्याएका छन् ।

नगरप्रमुख पोखरेलले खोप कार्ड र श्रम स्वीकृतिको क्षेत्र नगरको नभएको भन्दै त्यसको जवाफ नगरपालिकाले दिन नसक्ने बताएका छन् ।

असल नियतका साथ काम गर्ने शिलशिलामा भएका कमीकमजोरीलाई लिएर गरिएका सिर्जनात्मक टिप्पणी र आलोचना शिर झुकाएर स्वीकार गर्ने जनाउँदै नगरप्रमुख पोखरेलले ध्वंशात्मक र गलत नियतका साथ गरिएका आलोचना आफ्नो लागि त्याज्य हुने बताएका छन् ।

विज्ञप्ती वाचन (भिडियो पनि हेर्नुहोस्)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 489

प्रतिक्रिया (०)

सम्बन्धित खबर