काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने नेपालकै प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ मंगलबार हुँदै छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम दिउँसो २:४५ मा सुरु हुने छ। यो अवार्ड समारोहमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न विधाका खेलाडीलाई अवार्ड प्रदान गरिने छ।
यो पटक अवार्डलाई केहि फरक बनाइएको छ। अघिल्ला संस्करणमा वर्ष उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिंदै आएपनि यो पटक ‘दशक अवार्ड’ को रूपमा अवार्ड आयोजना गर्न लागिएको मञ्चले जनाएको छ। १८ औं संस्करणको यो अवार्डमा विभिन्न ९ विधामा प्रदान गरिने छ।
कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएको भन्दै मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा महत्वपुर्ण सफलता दिलाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गर्न लागिएको हो।
अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन् । यो पटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बाहाङ्फे, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन्।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ-टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिने छ। यो वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरिने छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ।
अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी, इमेज च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ। यसका साथै एनएसजेएफको युट्युब च्यानल प्रत्यक्ष प्रशारण गरिने छ।
यि विधामा दिइने छ अवार्ड
पिपुल्स च्वाइस
दशक पुरुष खेलाडी
दशक महिला खेलाडी
दशक प्रशिक्षक
पारा एथ्लिट सम्मान
स्पेसल अवार्ड
लाइफ टाइम एचिभमेन्ट अवार्ड
टिम अफ दि इयर
अन्तराष्ट्रिय खेल पत्रकार सम्मान