चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगत का पालनहार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा सर्वव्यापी शक्तिका रूपमा बुझ्न सकिन्छ । यी सर्व शक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर सृष्टिको साना–साना अवयवदेखि ठुला–ठुला खटनसम्मका तत्त्वका रूपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरूको अस्तित्व अनि आत्मा तत्त्वको परमात्मा तत्त्वद्वारा संरक्षण यिनै हरि रुपी शक्तिले गरिएको मानिन्छ ।
चैत्र कृष्णपक्षको एकादशीको महत्त्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचिनी एकादशीका रूपमा चिनिन्छ । यो एकादशीको महत्त्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ ।
हरेक वर्षका एकादशीका शृङ्खलाहरूलाई पापमोचिनी एकादशीले पूर्ण पारिदिन्छ । वर्षको अन्तिम एकादशीका रूपमा यो एकादशीलाई लिइन्छ । यस एकादशीमा श्रीहरिको चतुर्भुज रूपको आव्हान गरिन्छ । चतुर्भुज स्वरूपको थोरै व्याख्या गर्न चाहे, यो स्वरूपलाई श्रीहरिको विराट स्वरूपका रूपमा पनि लिन सकिन्छ । यस स्वरूपका श्रीहरि भित्र नै समग्र ब्रह्माण्ड समाहित भएको हुन्छ । महाभारतमा श्रीहरि स्वरूपका कृष्णले अर्जुनलाई यसै स्वरूपको दर्शन दिएका थिए ।
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरूपमा स्वरूपको व्याख्या गरिएको छ । दिव्य चक्षु अर्थात् दिव्य र ध्यान लीन नजरले यस स्वरूपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खोलेर यसै स्वरूपको प्रतिबिम्बका रूपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यस बखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरूपको पापमोचिनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ ।
चतुर्भुज मा शङ्ख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शङ्खले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सामर्थ्य अनि कमलको पुष्पले सृष्टिको कारकलाई उद्घोष गर्छ । चतुर्भुज एकादशीमा यिनै चतुर्भुज स्वरूपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।
पुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, चतुर्भुज पापमोचिनी को अर्थ पापबाट मोचन नष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दु धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरूले कुनै न कुनै पाप जानाजान वा अनजानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचिनी एकादशी व्रतको महत्त्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ ।
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठुलो महत्त्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ । कथा प्रसङ्ग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरूबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्त्वबारे उल्लेख गर्नुभएको छ ।
कथा अनुसार चैत्र रथ वनमा च्यवन नाम गरेका ऋषि मुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरूलाई मिलन निम्ति सहयोग गर्न थाले ।
कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै विमुख भए । आफ्नो तपस्या भङ्ग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’
अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरूप मेधावी ऋषि आफैँले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचिनी एकादशीको व्रतको विधि सविस्तार बताइदिए ।
काम योग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैँ पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसङ्ग अनुसार पापमोचिनी एकादशी व्रतको महत्त्व अझ पनि उत्तिकै छ ।